२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

छोरीलाई स्वावलम्बी बनाउन ‘नगरकी छोरी’ कार्यक्रम



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या ३३
  • बागलुङ/  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम सुरु गरेको छ । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालू आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो ।

    बागलुङ नगरपालिका– २ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो । प्रभु बैंकसँग सम्झौता गरी ०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट पाँच हजार रुपैयाँ २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् उनको नाममा नगरपालिकाले पाँच हजार रुपैयाँ मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउने गरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

    नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेको छ ।नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने उहाँले बताउनुभयो ।