इलाम/ स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका– ४ को श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ । नयाँ वर्षको अवसर पारेर चैत २८ गतेदेखि वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव–२०८१’ आयोजना हुने भएको हो ।
नगर उपप्रमुख एवं महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाकुमार बरालले रैथाने उत्पादन र मौलिक संस्कृतिको प्रदर्शन गरेर आगन्तुक पर्यटकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महोत्सवमा कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न जातजातिका मौलिक नृत्य, झाँकी प्रदर्शन हुन्छन् । स्थानीय तथा मौलिक खाद्य परिकारसहित स्थानीय हस्तकलाको स्टल पनि राख्नेछौँ ।’
महोत्सवमा यम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, यशोदा पराजुली, फुटी शेर्पा, रवि रिमाललगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । लागुपदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक सचेतना कार्यक्रम पनि गरिने बरालले बताउनुभयो ।
‘युवाशक्ति लागुपदार्थको सेवन र दुव्र्यसनीमा फस्दै गएको छ । मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन र नियन्त्रणमा चुनौती थपिँदै छ,’ बरालले भन्नुभयो, ‘यस्ता कुराको नियन्त्रण सन्देशमूलक सचेतनाबाट मात्र सम्भव छ । सचेतनाका लागि र्याली आयोजना गर्नेछौँ । महोत्सवको उद्देश्य स्थानीय कला, संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै युवालाई कुलतमा फस्नबाट रोक्नु पनि हो ।’
नयाँ वर्षको पहिलो दिन बिहानै पर्यटकलाई सूर्योदयको दृश्यावलोकन गराएर शुभकामना आदान–प्रदान गर्नुका साथै कार्यक्रमको उदघाटन गर्ने आयोजकको तयारी छ । नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले आगन्तुकहरू सांस्कृतिक कार्यक्रममा सहभागी भएर यहाँको कला, संस्कृतिलाई नजिकबाट बुझ्ने अपेक्षा व्यक्त गर्नुभयो । महोत्सव अधिभर करिब १० हजार पर्यटक भित्रिने अपेक्षा राखिएको प्रवक्ता भुजेलले बताउनुभयो ।
सूर्योदय आइडल पनि छानिने
महोत्सवका अवसरमा ‘दोस्रो सूर्योदय आइडल’को ग्रान्ड फिनालेसमेत गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताउनुभयो । प्रतियोगितामा अन्तिम आठ प्रतियोगी रहेका र उनीहरूको प्रस्तुतिसँगै विजेता घोषणा गर्ने भट्टराईको भनाइ छ ।
रासस
प्रतिक्रिया दिनुहोस