२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

किच्चकबधको उत्खनन, भेटियो दरबारको भग्नावशेष



  • आफ्नै खबर
  • १९ चैत २०८० सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या १२१
  • झापा/  झापाको भद्रपुर नगरपालिका– ३ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधमा दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको टोलीले सातौँपटक गरेको उत्खननका क्रममा पूरै दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको हो ।

    पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा पृथ्वीनगरको देउनिया नदी र मेची नदीको किनारमा रहेको किच्चकबधको ऐतिहासिकता प्रमाणित गर्न विभागले चैत २ गतेदेखि १८ गतेसम्म सातौँपटक उत्खनन गरेको थियो । पुरातत्वविद् आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इन्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशबाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलको समूह उत्खननमा सक्रिय थियो । पहिलोपटक पुरातत्वविद् आचार्यकै नेतृत्वको टोलीले ०५८ मा किच्चकबधमा उत्खनन सुरु गरेको थियो ।

    हालसम्म गरिएको उत्खननका क्रममा किच्कबधको उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तर–पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिम–दक्षिणमा अर्को बहुतले भवनको भग्नावशेष फेला परेका छन् । यी चारवटा भवनको दक्षिणतिर दुई सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको दुईतले भवन गरी पाँचवटा भवनका संरचना फेला परेका पुरातत्वविद् आचार्यले जानकारी दिनुभयो । 

    यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्री वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताब्दीतिरको मानव सभ्यतासँग गाँसिएका प्रमाणित भएको आचार्यले बताउनुभयो । ‘यस आधारमा किच्चकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ,’ उहाँले भन्नुभयो, ‘भारतमा कुषाणकाल चलेको समयमा यस स्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुन सक्छ ।’