२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

निर्माण गर्दा नै ढलेको बाइटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या १११
  • खोटाङ/  निर्माण गर्दा नै ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका बाइटार र उदयपुरको कटारी नगरपालिकाका चिपटार जोड्ने झोलुंगे पुलको टावर पुनः निर्माण गरिएको छ । पुलको उदयपुरतर्फको निर्माणाधीन टावर ०७९ चैत १० गते ढलेको थियो ।

    निर्माण कम्पनी नेपाल फूलबारी–स्वर्णीम–अन्सुमन जेभीले पुलको टावर हालै निर्माण गरेको हो । स्थानीयको निरन्तरको दबाबपछि उक्त कम्पनीले फागुन २९ गतेदेखि काम सुरु गरेको थियो । टावर ढलेयता पुलको काम रोकिएको थियो । निर्माण कम्पनीलाई प्रदेश सांसद भूपेन्द्र राईलगायत स्थानीयले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई अविलम्ब काम थाल्न अनुरोध गर्नुभएको थियो । 

    प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलब्ध गराएको तीन करोड ५० लाख रुपैयाँमा पुल निर्माणको काम सुरु भएको थियो । झोलुंगे तथा पक्की पुल अभावमा साबिकको डिकुवा– ३ बाइटार र बलुई तथा साबिकको डिकुवा– २ टारगाउँका एक सय १० परिवार डुंगा चढेर नदी वारपार गर्न बाध्य छन् । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।