१० साउन २०८२ शनिबार | 26 Jul 2025 Sat

सहकारीको ठगी सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग



  • आफ्नै खबर
  • २० चैत २०८० मंगलबार (१ बर्ष अघि)
  • पाठक संख्या १५१
  • काठमाडौं/  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याएको छ । 

    कांग्रेसले उक्त समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्नेसमेत माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै उक्त पार्टीका सबै सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई बोल्नका लागि समय दिनुभएको थियो ।

    सांसद यादवले सरकार पुनर्गठनसँगै लामिछानेमाथिको छानबिन रोकिएर विश्वासको संकट उत्पन्न भएकाले संसदीय छानबिन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले लामिछाने सञ्चारकर्मीका रूपमा आबद्ध हुँदाका बखत गोर्खा मिडिया प्रा.लि.मा हुँदा सहकारीबाट ८० करोड रुपैयाँ ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभयो ।

    सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले गृहमन्त्री र सहकारी जोडिएको विषयबाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने बताउनुभयो । सदनमा सांसदले उठाएका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्दै दण्डहीनताको अन्त्य, कानुनी राज्यको पालना र सुशासन कायम गरेर आमनागरिकप्रति आशा सिर्जना गर्न उहाँले आग्रह गर्नुभयो ।

    तत्पश्चात् सभामुख घिमिरेले उठेका विषयमा आफ्नो र संसद्को ध्यान गएको अवगत गराउनुभयो ।