२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

पार्टपुर्जाको अधिक भन्सार दरले नेपालमा एसेम्बल उद्योगलाई गाह्रो छ : कोरियाली राजदूत



  • आफ्नै खबर
  • २० चैत २०८० मंगलबार (१ बर्ष अघि)
  • पाठक संख्या १५५
  • काठमाडौं/  नेपालका लागि कोरियाली राजदूत पार्क तइयोङले नेपालमा मझौला उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्न कोरिया सरकार तयार रहेको बताउनुभएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा राजदूत तइयोङले यसका लागि लगानीमैत्री वातावरण तयार पार्न आग्रह गर्नुभएको छ । 

    उहाँले भन्नुभयो, ‘सवारीसाधनका पार्टपुर्जा ल्याउँदा र यहीँ एसेम्बल गर्दा उही मूल्य पर्ने भएकाले भन्सार दरमा सहुलियत हुनुपर्छ ।’ कोरियाली लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेकाले लगानी गर्न मिल्ने क्षेत्र पहिल्याउन पनि उहाँले मन्त्री भण्डारीलाई आग्रह गर्नुभयो ।


    ‘मेड इन नेपाल’प्रति कोरियाली जनता प्रभावित रहेकाले नेपाली मालसमानको निर्यातमा सघाउन कोरिया सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो । राजदूत तइयोङले कोरिया सरकारले नेपाललाई दिँदै आएको सहुलियत सन् २०२६ पछि पनि प्राप्त गर्ने वातावरणका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो । 

    इपिएस प्रणालीमार्फत कोरिया पुगेका कामदारले सिकेको सीप नेपाल फर्केपछि उत्पादनसित जोड्न सकिने वातावरण बनाउन पनि राजदूतले मन्त्रीलाई आग्रह गर्नुभएको थियो । भेटमा मन्त्री भण्डारीले नेपालले कृषि, उद्योग र जलविद्युत् विकासका लागि कोरियाली अनुभव, ज्ञान, सीप तथा प्रविधिबाट लाभान्वित हुन चाहेको उल्लेख गर्नुभएको थियो । उहाँले राजदूत तइयोङसँग नेपालमा पछिल्ला दिनमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग गर्न कोरिया सरकार एवं निजी क्षेत्रसमेतलाई आग्रह गर्नुभयो ।

    आगामी अप्रिल २८–२९ मा आयोजना हुने नेपालको लगानी सम्मेलनमा कोरियाली सरकार तथा निजी क्षेत्रको उल्लेख्य सहभागिताका लागि सहजीकरण गरिदिन पनि मन्त्री भण्डारीले आग्रह गर्नुभएको थियो ।

    नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयबीच व्यापार तथा लगानी प्रवद्र्धनको कार्यढाँचा स्थापना गर्न समझदारीपत्रको मस्यौदा कोरिया पक्षबाट नेपालले प्राप्त गरी सो मस्यौदामा अध्ययन तथा सरोकारवालासँग छलफल भइरहेको मन्त्री भण्डारीले जानकारी गराउनुभयो ।