काठमाडौं/ जापान र नेपालका व्यवसायीले जापानको श्रमबजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका र क्योउदाई रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान–नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तर्क्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको हो ।
कार्यक्रममा टोकियोमा रहेको नेपाली दूतावास, फुकुओका अवैतानिक वाणिज्य दूतावास, मोरिकोसान कम्पनी, ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साई अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काई रेल्वे कम्पनीलगायतको सहभागिता थियो । अनलाइन र प्रत्यक्ष उपस्थितिमा भएको छलफल कार्यक्रममा जापानबाट ९५ र नेपालबाट ६० भन्दा बढी कम्पनी सहभागी भएका थिए ।
कार्यक्रमलाई जापानको तर्फबाट एरु एकेडेमीका अध्यक्ष केइइची हासेगावा र माकोतो साकिमुरा, कान्साई अर्थ, व्यापार तथा उद्योग ब्युरोका प्रोजेक्ट म्यानेजर हागिहारा दाइसाकुले सम्बोधन गर्नुभएको थियो भने नेपालको तर्फबाट जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको पहिलो चरणमा जापान–नेपाल सम्बन्ध, जापानको श्रमबजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको आपूर्तिबारे छलफल भएको थियो । त्यसैगरी, पछिल्लो समय आक्रामक रूपमा बढिरहेको नेपालीको जनसंख्यासँगै आउने सम्भावित समस्या र त्यसको निराकरणका लागि चाल्नुपर्ने कदमलगायतको विषयमा वक्ताहरूले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
दोस्रो चरणमा नेपालबाट अनलाइनमार्फत सहभागी कम्पनीलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्र्याउन चाहने कम्पनीहरूसँगै व्यावसायिक रूपमा जोड्न सहयोग गर्ने विषयमा केन्द्रित थियो ।
पर्यटन, होटेल, रेस्टुरेन्ट उद्योग, दक्ष जनशक्ति, सूचना प्रविधि, उत्पादन उद्योग, घरजग्गा व्यवसाय तथा मानव संसाधनजस्ता विभिन्न ग्रुपमा विभाजन गरी परिचयात्मक अन्तक्र्रिया कार्यक्रम अनि नेपालबाट जापानमा विद्यार्थीलगायत विविध क्षेत्रका कामदारहरू पठाउन चाहने र नेपालको विभिन्न क्षेत्रमा व्यवसाय प्रवर्द्धन तथा अभिवृद्धि गर्न चाहने जापनिज कम्पनीहरूलाई व्यावसायिक छलफल र व्यापारिक साझेदारीको सम्भावनालगायतको विषयमा अन्तर्क्रिया गराइएको थियो ।
कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापान–नेपालको लामो दौत्य सम्बन्धको चर्चा गर्दै यो कार्यक्रममार्फत नेपाल र जापानको व्यापार व्यवसाय प्रवद्र्धनमा र जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सक्दो सहयोग गर्न सदैव तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा आइएमई ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी सामान्य कामदार मात्रै नभएर सूचना प्रविधिलगायतका क्षेत्रमा दक्ष जनशक्ति लिन सक्ने भएकाले त्यसतर्फ प्रयास गर्नुपर्ने बताउनुभयो । यसैगरी नेपालमा ठूला परियोजनाहरूमा वैदेशिक लगानीको माग रहेकाले नेपालमा लगानी गर्न पनि प्रबन्ध निर्देशक ढकालले जापानी कम्पनीहरूलाई आग्रह गर्नुभयो । यही अप्रिलमा आयोजना हुन गइरहेको नेपाल लगानी सम्मेलन २०२४ मा सहभागिताका लागि ढकालले जापानी लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।
एरु एकेडेमीका अध्यक्ष केइइची हासेगावाले नेपाल र जापानको लगानी सम्बन्धलाई मजबुत बनाउन छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमलाई सन्देशमार्फत क्योउदाई रेमिटेन्सका अध्यक्ष तथा नेपाली दूतावास जापान फुकुओकाका वाणिज्यदूत किमोतो युइचिरोले नेपालसँगको लामो व्यावसायिक सहकार्य बढाउन तत्पर रहेको बताउनुभयो । एरु एकेडेमिक प्रमुख म्यानेजर निसिमुरा कोउजीले प्रत्यक्ष र अनलाइनमार्फत जोडिएका जापानी कम्पनीलाई नेपालबाट सहभागी भएका कुनै कम्पनी या निकायहरूसँगै जोडिएर काम गर्न सहजीकरण र सहयोग गरिने जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस