२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

म्याग्दीको विकट गाउँमा पुग्यो सडक



  • रासस
  •     (१ बर्ष अघि)
  • पाठक संख्या ६४
  • म्याग्दी/  म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका– ४ को खिवाङगाउँमा सडक पुगेको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो । 

    धवलागिरि गाउँपालिका– ४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केंकीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताउनुभयो । ‘खाम्ला–केंकी–नाउरा हुँदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘केंकीबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो ।’ सडक निर्माण भएपछि खिवाङका एक सय ८० घरपरिवार लाभान्वित भएको उहाँले बताउनुभयो । उक्त सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् ।

    ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालसँग जोडिएको गाउँपालिकाले जनाएको छ । 

    धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङगाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरिएको बताउनुभयो । अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताउनुभयो । गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ । 

    जलविद्युत् आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्रयाक खोल्ने कामलाई पनि अन्तिम चरणमा पु¥याएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।