पर्वत/ कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बाँझो जमिनमा खेती गराउनमा केन्द्रित गरेको छ । बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदरआतंकलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि नगरपालिकाले त्यसलाई रोक्न बाँझो जमिनमा खेती गराउन थालेको हो ।
नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ । वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो ।
नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको ससर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्यअनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छ । त्यस्तै, उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ । पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताउनुभयो । गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाले सात सय ५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा ससर्त अनुदान प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस