काठमाडौं/ साझा सेवा सहकारीले बल्खुमा सञ्चालन गरिरहेको पेट्रोल पम्पले आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ बिक्री सुरु गरेको छ । पम्पको २४ घण्टे सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नुभएको हो ।
बिक्री सेवाको सुरुवात गर्दै मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्नुभयो । साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको उहाँको भनाइ थियो । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो ।
निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै उहाँले सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाँचो औँल्याउँदै आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।
मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रहबमोजिम पेट्रोलियम पदार्थ वितरण २४सै घण्टा गर्ने सुरुवात गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रीको निर्देशनबमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्प पनि २४सै घण्टा सञ्चालन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस