१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष



  • आफ्नै खबर
  • २२ चैत २०८० बिहिबार (८ महिना अघि)
  • पाठक संख्या ६१
  • खोटाङ/  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ३ बाम्राङका दलसेर राई र उहाँकी श्रीमती चामकुमारीको सम्मानमा बाम्राङमा रहेको सुर्केडाँडा आधारभूत विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । राईदम्पतीका जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन राई, कान्छा छोरा रामचन्द्र राई र छोरीहरू अनुता राई, अविसरा राई, अञ्जना राई र अम्बिका राईले आफ्ना बुबाआमाको सम्मानमा ५ लाख रुपैयाँको ‘दलसेर–चामकुमारी राई शैक्षिक अक्षयकोष’ स्थापना गर्नुभएको हो । 

    अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजले वार्षिक रूपमा एकजना उत्कृष्ट विद्यार्थी, सधैँ विद्यालयमा उपस्थित हुने विद्यार्थी र कक्षा ७ को वार्षिक परीक्षामा सबैभन्दा अधिक अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ । 

    बाम्राङमा जन्मिएर बेलायतलाई कर्मभूमि बनाउँदै आएका राईदम्पतीका सन्तानले स्थापना गरेको अक्षयकोष सञ्चालनका लागि स्थानीय सहवीर राईको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा जमानसेर राई, सचिवमा प्रदीप राई, सहसचिवमा सीता खत्री, कोषाध्यक्षमा सोही विद्यालयका प्रधानाध्यापक विमला सुन्दास तथा सदस्यहरूमा प्रेमचन्द्र थापा र राजबहादुर पाण्डे हुनुहुन्छ ।

    कक्षा ८ सम्म अध्ययन–अध्यापन हुँदै आएको उक्त विद्यालयमा दलसेर राई २ कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको थियो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?