काठमाडौँ/ संसद्सामू गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनुभएको छ ।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री दाहालले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताउनुभएको हो ।
“सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने सङ्कल्पअनुरूप विभिन्न सेवाप्रवाहका प्रणालीबीच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा बिस्तारका क्षेत्रमा गरिएका सुधारले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नो अब्जेक्सन सर्टिफिकेटलगायतका सेवा लिन सहज भएको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “संसद्मा व्यक्त प्रतिबद्धता अनुरूप रसायनिक मलको आपूर्ति सुनिश्चित गरी वितरण प्रणालीमा सुधार गरिएको छ ।”
गत शैक्षिक वर्षदेखि इतिहासमै पहिलोपटक विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका र यस वर्ष पनि समयमै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने काम प्रारम्भ भइसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उखु किसानको बक्यौता रकम भुक्तानी गरिएको र दुग्ध किसानको बाँकी रकम भुक्तानी दिन सुरु भइसकेको बताउनुभयो ।
सेवा प्रवाहमा नागरिकको गुनासालाई प्रभावकारीरूपमा सम्बोधन गर्न हेलो सरकारलाई २४सै घण्टा सञ्चालनमा ल्याइएको बताउँदै प्रधानमन्त्री दाहालले सरल र सहज सार्वजनिक सेवाको प्रत्याभूतिका लागि सरकारी सेवामा ‘टाइम कार्ड’ अभ्यासमा ल्याइएको र यसलाई सबै जिल्लामा क्रमशः विस्तार गरिँदै लगिएको बताउनुभयो ।
विकास आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्न आवश्यक सहजीकरण गर्दै स्थलगत र ‘भर्चुअल’ अनुगमन संयन्त्रको विकास र अभ्यास भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पन्न भइसकेका निर्माण कार्यहरूको भुक्तानी दिने काम भइरहेको बताउनुभयो ।
सुधार आफैँबाट सुरु गर्नुपर्दछ भन्ने मान्यताका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उत्कृष्ट निकायकारूपमा विकास गर्ने प्रतिबद्धता कार्यान्वयनमा आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तदनुरूप सङ्गठन पुनःसंरचना गरी दरबन्दी कटौती गरिएको बताउनुभयो ।
सुशासन सरकारको पहिलो प्राथमिकतामा रहेको कुरा आफूले सम्मानित सदनमा व्यक्त गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति सरकारले लिएको स्पष्ट पार्नुभयो ।
भूमिहीन, सुकुम्बासीलगायतका समस्या समाधानका लागि निवेदन सङ्कलन र तथ्याङ्क प्रविष्टिलगायत क्षेत्रगत तयारी करिब सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमिसम्बन्धी तथा वनसम्बन्धी ऐनमा केही संशोधन आवश्यक देखिएकाले यी कानुनमा सुधारका लागि संशोधन भइ संसदमा पेश गर्ने कार्य अन्तिम चरणमा रहेको बताउनुभयो ।
शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने विषयमा सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक सम्मानित संसदमा दर्ता भएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारले गरेका प्रतिबद्धताहरू पूरा हुने क्रममा रहेको उल्लेख गर्नुभयो ।
कार्यान्वयनयोग्य र उत्पादन केन्द्रित बजेट
त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट जनताका अपेक्षाअनुरुप वस्तुपरक, कार्यान्वयनयोग्य र उत्पादनमा केन्द्रित हुने बताउनुभयो । उहाँले आगामी आवको बजेट जनताका समस्या समाधान गर्ने गरी विनियोजन हुने उल्लेख गर्नुभयो ।
उहाँले आफू नेतृत्वको सरकारले सुरुदेखि नै लघुवित्त तथा सहकारीपीडितका समस्या समाधान तथा जनजीवनका सवाल सम्बोधनका लागि पहलकदमी लिएको बताउनुभयो । उहाँले पछिल्लो समयमा अर्थतन्त्र सुधारमा संकेतहरु देखिएको समेत उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक वित्तमा सुधार, राजस्व तथा पुँजीगत खर्चमा सुधार भएको भन्दै अर्थतन्त्रका समष्टिगत परिसूचकमा सुधार ल्याउन सरकारले कार्यायोजना बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सुशासन प्रवद्र्धन गर्दै भ्रष्टाचार नियन्त्रणको अभियान सुरु गरेको बताउनुभयो । अर्थतन्त्रलाई चालयमान बनाउन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्नेलगायतका सङ्कल्पका साथ सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक कानुनहरु तर्जुमाको क्रममा रहेको बताउनुभयो ।
त्यसअवसरमा प्रधानमन्त्री दाहालले सङ्घीय प्रहरी विधेयक संसद्मा पेश गर्ने अन्तिम तयारी भएको जानकारी गराउनुभयो । उहाँले आफू नेतृत्वको सरकार गठनपछि दुई पटक अन्तरप्रदेश परिषद्को बैठक बसी सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गरेको समेत उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस