मोरङ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजारमा माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको धारणा व्यक्त गर्नुभएको छ । उहाँले मोरङ उद्योग व्यापार संघको ६७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बजारको माग बढाउन सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको हो ।
सरकारले लगानी सम्मेलनअघि नै संशोधन गर्नुपर्ने देखिएका कानुनलाई पनि समयमै संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो । समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश जाने ढकालले बताउनुभयो । ढकालले महासंघको सुझावमा १२ वटा ऐन–नियम संशोधनको प्रस्ताव गरिएको जानकारी दिनुभयो । संशोधनपछि केही जटिल विषय सम्बोधन हुने उहाँको भनाइ थियो ।
ढकालले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण सुविधा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो । सुविधा ठप्प हुँदा उद्यमशीलतामा असर परेको उहाँले बताउनुभयो ।
आन्तरिक माग कम हुँदा निर्यात गरेर र बढी पर्यटक भित्र्याएर माग बढाउनुपर्नेमा उल्टै निकासीमा दिइने अनुदान रोकिएको उहाँको भनाइ थियो । यस हिसाबले अहिले निर्यातमा प्रोत्साहन नहुने उहाँले बताउनुभयो । पुँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता पनि तिर्न सरकारलाई आग्रह गर्दै अध्यक्ष ढकालले सरकारले व्यवसायीहरूको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ढकालले मोरङ उद्योग व्यापार संघले चेम्बर आन्दोलन र देशको आर्थिक विकासमा पु¥याएको योगदानका साथै यस क्षेत्रमा उद्यमशीलता प्रवद्र्धन, साना तथा मझौला उद्योगलाई टेवा पु¥याउन र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न निर्णायक भूमिका खेलेको उल्लेख गर्दै बधाई दिनुभयो ।
उक्त अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष नवीन रिजालले कर्जाको ब्याजदर घटाउन सहयोग पु¥याएकोमा ढकाल र महासंघलाई धन्यवाद दिनुभयो । तर, बजारको माग कम भएकाले व्यवसायीले केही समस्या भोग्नुपरेको जानकारी गराउँदै रिजालले बजारमा छिट्टै सुधार आउने र अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस