काठमाडौं / खोटाङको रावाबेँसी गाउँपालिकामा भारत सरकारको सहयोगमा विद्यालय भवनको निर्माण भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको ३ करोड ६१ लाख रुपैयाँ अनुदान सहयोगमा शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको हो ।
नवनिर्मित भवनको बिहीबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थितिमा विद्यालय भवनको उद्घाटन भएको हो ।
दुईतले विद्यालय र छात्रावास भवनका निम्ति आवश्यक फर्निचरको व्यवस्था पनि भारत सरकारले नै गरेको दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ । विद्यालय र छात्रावास भवन निर्माण परियोजना जिल्ला समन्वय समिति खोटाङसँगको समन्वयमा कार्यान्वयन गरिएको हो ।
सन् १९५२ मा स्थापना भएको शारदा माध्यमिक विद्यालयमा कक्षा १ देखि ‘प्लस टु’ तहसम्म अध्यापन हुँदै आएको छ । यो विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा रहेका छन् । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५ सय ५० वटाभन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेको दूतावासले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा हाल कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना सञ्चालन भइहेका छन् ।
प्रतिक्रिया दिनुहोस