काठमाडौं / पर्यटन व्यवसायी कृष्णमान श्रेष्ठले नेपालमा धार्मिक पर्यटनको विकासका लागि विश्वमै प्रचारप्रसार गर्ने उद्देश्यसहिन सगरमाथा आरोहण गर्ने हुनुभएको छ । सरकारले घोषणा गरेको पर्यटन दशक सफल पार्न तथा विश्वका पर्यटकको ध्यान नेपालमा खिच्न उहाँले यही सिजनमा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।
पर्यटन व्यवसायी श्रेष्ठले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण दशक २०२३–०३२ लाई सफल पार्न र नेपालको सनातन धर्मलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न आफूले सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो । नेपालमा धार्मिक पर्यटनको विकास गर्न सके धेरै लाभ लिन सकिने उहाँको भनाइ छ ।
छिमेकी मुलुक भारतमा धार्मिक पर्यटनले राम्रो स्थान पाइरहँदा नेपालमा भने धार्मिक पर्यटनले गति लिन नसकेको उहाँको गुनासो छ । त्यसैले धार्मिक पर्यटन विकासका लागि सगरमाथा आरोहण गरेर सम्बन्धित सबैलाई आग्रह गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘समाज र राष्ट्रलाई केही योगदान गरौँ भन्ने उद्देश्य राखेर म लगातार लागिराखेको छु । मेरो पेसा पनि पर्यटनसँग सम्बन्धित भएकाले पर्यटनबाट नै समाजलाई केही गरौँ भन्ने सोचेर यही सिजनमा सगरमाथा आरोहण गर्न गइरहेको छु ।’
पर्यटनको प्रचार–प्रशार गर्ने उद्देश्यले सगरमाथ आरोहण गर्न लागेको र अहिले आर्थिक मन्दीको बेलामा एक्लै उक्त कार्य गर्न असहज परिस्थिति रहेको भन्दै उहाँले देश–विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोगको अपेक्षा राखेकोसमेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस