२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

चतराधाममा एकमहिने महाकुम्भ मेलाको तयारी पूरा



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या १६७
  • सुनसरी/  सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुन लागेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ । आध्यात्मिक हिसाबले महत्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा हरेक १२ वर्षमा लाग्ने मेलाअन्तर्गत यसपटकको पूर्णमहाकुम्भ मेलाको तयारी पूरा भएको हो ।

    धार्मिक स्थल चतराधाममा चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने महाकुम्भ मेलामा ३० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । उनीहरूको व्यवस्थापन र सुरक्षाको राम्रो प्रबन्ध गरिएको मेला मूल आयोजक समितिले जनाएको छ । 

    धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्वपूर्ण रहेको उक्त मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने जनाइएको छ । पहिले भारतमा यो कुम्भमेला लाग्दै आएकामा नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको पहल र परिकल्पनामा २०५९ सालदेखि नेपालमै यो सुरु भएको हो । पुराणमा उल्लेख भएअनुसारको स्थान चतराधाममा हरेक १२ वर्षमा यो महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।

    जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावको विकास एवं अभिवृद्धि हुने हुँदा देश–विदेशबाट कुम्भमेलाको दर्शनका लागि चतरा आउन थालेपछि यसको महत्व बढ्दै गएको उल्लेख गर्नुभयो । कुम्भ मेलामा कोटीहोम, वेद–पुराण पाठपरायण, आफ्ना इष्टदेवताहरूको पूजन तथा भजन गर्ने, निराहार बसी व्रत गर्ने र महाकुम्भमा स्नान गर्ने आदि गरिन्छ । यस महान् अनुष्ठान एवं मेलामा स्वदेश तथा विदेशका जगतगुरु, शंकराचार्य, धर्माचार्यको सहभागिता र उहाँहरूको प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत महास्नान हुने गर्दछ । 

    मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिका सक्रिय रहेको छ । यस धार्मिक मेलाका हरेक क्रियाकलापमा बराहक्षेत्र नगरपालिका गम्भीरतापूर्वक लागेको नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । मेला अवधिभर चतरामा मदिरा तथा मासुजन्य पदार्थको बिक्री–वितरण निषेध गरिएको उहाँले बताउनुभयो ।