प्यूठान/ लालीगुराँसले राताम्मे जङ्गल । आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्य हिमाल । जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओढारका बास । डाँडा र हिमालको सौन्दर्यताले मनमोहित हुने जङ्गलका चरन क्षेत्रमा भेटिन्छन् भेडाका बथान ।
प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारा नाङ्गीको क्षेत्र निकै रमाइलो र लोभलाग्दो देखिन्छ । गौमुखी–नौबहिनी पर्यटकीय पदमार्गअन्तर्गतको नाङ्गी मेलबास जङ्गलमा लालीगुराँसको सौन्दर्यतामा भेडापालक किसानले महत्व थपेका छन् । पुसदेखि जेठसम्म यस आसपासमा भेटिन्छन् २२ वर्षीय निशान्त पुनमगर र ६३ वर्षीय जीवन बुढामगर ।
वृद्ध बुढामगरले आफ्नो जीवन भेडीगोठमै व्यतित गरिसक्नुभएको छ । बाल्यकालमा बुवा, बाजेसँग भेडीगोठमा बिताएको सम्झँदै उहाँ भेडीगोठमा काम गर्ने मजदुरको रूपमा अहिले काम गर्न थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जीवनका अन्तिम समयसम्म भेडीगोठमा जीवन बिताएँ । गाउँभन्दा भेडीगोठ प्यारो लाग्दछ । गोठालो जीवन नै प्रिय बन्यो ।’
रुकुमको तकसेरा गाउँका बासिन्दा रहेका जीवनले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर उहाँको जाँगर घटेको छैन । भेडीगोठसँगको उनको सामीप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेको छैन । अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उहाँको भनाइ छ ।
बागलुङको निसीखोला गाउँपालिका चेलबाङ्का २२ वर्षीय निशान्त पुनमगरले भेडाबाख्रा चराउन थालेको चार वर्ष भयो । भेडापालन उहाँको पुख्र्यौली पेसा हो । बुवा एक्लैले भेडापालन गर्न नसक्ने भएपछि कक्षा ८ मा पढ्दै गर्दा उहाँले पढाइ छाड्नुपर्यो । अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहनुभएको छ ।
पाँच सय ५० भेडाको बथानसहित आएका मगर प्युठानको अर्खास्थित लेकाली भेगको मेलवास जङ्गलमा भेडाबाख्रा चराइरहनुभएको छ । हिउँ छल्न रुकुम, रोल्पाको उच्च पहाडी लेक चहार्दै अर्खाको गौमुखी जङ्गल क्षेत्रमा झरेको निशान्त पुनमगरले बताउनुभयो । उहाँको सिङ्गो परिवार यही पेसामै आश्रित छ ।
कलिलो उमेरदेखि नै बुवासँग फिरन्ते जीवनको अनुभव गर्दै आएको बताउने निशान्तले भन्नुभयो, ‘चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै पाल टाँगेर गोठ बनाएर बस्ने गरेका छौँ ।’ उहाँले बुवाले व्यतित गरेको भेडीगोठको जीवनलाई आफूले निरन्तरता दिन लाग्नुभएको हो । भेडापालनबाट हुने फाइदा, जीवनयापनमा आश्रित परिवारका लागि खर्चको जोहो गर्न सकिने विश्वासले उहाँले यो पेसालाई अङ्गाल्नुभएको हो ।
यस क्षेत्रमा आधा दर्जन गोठ ठूलो बथानसहित रहेको पाइन्छ । भेडीगोठ सरिरहन्छन् । गोठ छिटोछिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन् । गोठाला त्रिपालले छाएका गोठ र ओढारमुनि बस्छन् । खाने खर्च र कपडा बोकेर उनीहरु भेडाको बथानसहित चरन क्षेत्रमा रहन्छन् भने हप्तामा एकपटक नजिकका गाउँ, आफ्नो घर क्षेत्रबाट खर्च पुर्याउने गरिएको हुन्छ ।
वर्षमा झण्डै ११ महिना खुला आकाशमुनि जङ्गलमै रात बिताउने उहाँले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने सुनाउनुभयो । जाडो याममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरू घर फर्किन्छन् । वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुने उहाँको अनुभव छ ।
मगरले भेडाबाख्रा चराउन ल्याएवापत स्थानीयलाई देवालीका लागि २ भेडा र ५ वर्षसम्म चरन क्षेत्रका लागि १ लाख रुपैयाँ बुझाउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यो याममा सधैँ नाङ्गीको जङ्गलमा आउँछौँ । यहाँ पोषिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुन्छन् ।’
एक सहयोगीसहित गत पुसमा यहाँ आएका मगर गर्मीयाम सुरु भएपछि भेडाबाख्रा लिएर ढोरपाटनको उकालो चढ्ने तरखरमा हुनुहुन्छ । उहाँले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा जेठसम्म फर्केर रोल्पा, रुकुम हुँदै गोठालासँग भेडा मिसाएर चराउने बताउनुभयो । जङ्गली जनावरबाट भेडाबाख्रा जोगाउन चारवटा भोटेकुकुर पाल्नुभएको छ । भेडी गोठाला मगरले कुकुरले जङ्गली जनावरबाट जोगाउन मद्दत गरेको उहाँको अनुभव छ ।
भेडाबाख्रापालनबाट वार्षिक ११ लाख रुपैयाँ कमाउने मगर बताउनुहुन्छ । प्यूठानसहित बागलुङ, रुकुम, रोल्पा, गुल्मी तथा अन्य थुप्रै ठाउँबाट भेडाबाख्रा लिन चरन क्षेत्रमै ग्राहक आउँछन् । प्रतिभेडा १५ देखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । वर्षमा दुईपटक ऊन निकाल्ने र भेडा बिक्रीबाट वार्षिक ११ लाख रुपैयाँको कारोबार र ४ लाख रुपैयाँ बचत हुने उहाँले सुनाउनुभयो ।
प्यूठानको लेकाली क्षेत्रमा प्रशस्त भेडीगोठ छन् । स्थानीयले समेत १ सयदेखि २–३ सयका हाराहारीमा भेडा पालेर बसेका छन् । प्यूठान गौमुखी–३ उत्तिसेमा २ सयवटा भेडा पालेर बसेका भविराम पुनले भेडापालन गतिलो आम्दानीको स्रोत बनेको बताउनुभयो ।
रासस
प्रतिक्रिया दिनुहोस