३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

६ वर्षीय बालकको एकल चित्रकला प्रदर्शनी



  • आफ्नै खबर
  • २५ चैत २०८० आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या ५३३
  • काठमाडौं/ कला रहरले हुँदैन भनेजस्तै कलाकार बन्नलाई उमेरले छेक्दैन भन्ने अर्को मान्यता स्थापित भएको छ । यो मान्यता स्थापित गरेका हुन् भक्तपुरका ६ वर्षीय आरभबन्धु थापाले ।

    भर्खरै अक्षर चिन्दै गरेका उनका अक्षरभन्दा बढी स्पष्ट र कलात्मक छन् चित्रका रेखा र उतार्ने शैली । आइतबार नयाँ बानेश्वरमा रहेको एनबी सेन्टरको पहिलो तलामा एकल चित्रकला प्रदर्शन गरेर उनले आफ्नो क्षमताको परिचय दिएका छन् । कतै घुम्न जाँदा देखेका स्थान वा वस्तुलाई  गहन तवसले अवलोकन गरेपछि सिसाकलमले कोरिहाल्ने उनको स्वभावको परिणामस्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उनका बुबा भरतबन्धु थापाले बताउनुभयो । 

    आरभले १५ दिनमा २५ वटा स्केच कोरेर प्रदर्शनीमा राखेका हुन् । प्रदर्शनीमा पशुपति तथा जानकी मन्दिर, जात्रा, शिवलिंगलगायत प्राकृतिक दृश्य समावेश छन् । आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएको देखेपछि आरभ थप्छन्, ‘चित्र कोर्न पाउँदा आनन्द आउँछ र भविष्यमा सफल चित्रकार नै हुन्छु ।’ 

    छोराको कलाप्रतिको रुचि बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रदर्शनी राखिएको उनकी आमा गीताञ्जलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालबालिकाको रुचिमा अभिभावक सहयोगी भयो भने हाम्रो सानो हौसलाले पनि उनीहरूको प्रगतिको मार्ग सहज हुन्छ ।’