२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

हेटौँडाको गुन्द्रुकले पायो सरकारी मान्यता



  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या १०५
  • हेटौँडा/  हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त ठहर भएपछि सरकारी मान्यता पाएको हो ।

    उक्त उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य अनुज्ञापत्र प्रदान गरेको जानकारी दिएको छ । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलोपटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो । 

    उपमहानगर प्रमुख मीनाकुमारी लामाले सरकारी मान्यता पाएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उद्यमी समूहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उहाँले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने उहाँको भनाइ थियो ।

    होटेल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिशगोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताउनुभयो । होटेलहरूले यहीँ उत्पादन भएको गुन्द्रुक खपत गर्नेमा प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नुपरेन । अब जिल्लाका होटेलहरूमा यहाँ उत्पादित गुन्द्रुक प्रयोगमा समस्या छैन ।’

    करिब ४ महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञापत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिनुभयो । उपमहानगरपालिकाको १ लाख रुपैयाँ लगानीबाट उद्योग सुरु गरी अग्र्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञापत्र पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो । उपमहानगरको सहयोग र सहकारीको ८० हजार रुपैयाँ ऋणबाट १५ कट्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो ।’ 

    १२ जना सदस्य रहेको समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो । उद्योग शाखाको तथ्यांकअनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि हाल २ सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।