२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

हिमाल आरोही गन्तव्यतर्फ लागे

सबैभन्दा बढीको लक्ष्य सगरमाथा, दोस्रोमा ल्होत्से



  • आफ्नै खबर
  • २७ चैत २०८० मंगलबार (१ बर्ष अघि)
  • पाठक संख्या ५३
  • काठमाडौं/  हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरू गन्तव्यतर्फ लागेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजंघा, धौलागिरि, ल्होत्से, अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न देशका आरोही गन्तव्यतर्फ लागेका हुन् ।

    पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथासहित विभिन्न १६ हिमाल आरोहणका लागि ३६ आरोही समूहका ७४ महिला र २ सय ६० पुरुष गरी कुल ३ सय ३४ जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथा हिमालमा मात्रै १३ समूहका ३० महिलासहित १ सय ४९ आरोहीले अनुमति पाएका छन् ।

    सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि ४ समूहका ४५ जनाले अनुमति लिएका छन् । त्यस्तै, अमादब्लम हिमालमा ४ आरोही समूहका ३८ जनाले अनुमति पाएका छन् । अन्नपूर्ण हिमाल आरोहणका लागि ३ आरोही समूहका २५ जनाले अनुमति लिएको विभागले जनाएको छ ।
    पर्यटन विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले यस याममा सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतर्फ लागेको जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा आरोहणका लागि आउने पर्यटकको संख्या अझै बढ्न सक्छ । 

    सेभेन समिट ट्रेक्स प्रा.लि.का अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत हालसम्म करिब १५ जना आरोही आरोहणका लागि आएको बताउनुभयो । अहिले ६० हाराहारी आरोही अनुमति लिने प्रक्रियामा रहेकाले यस वर्ष पनि सगरमाथा आरोहण गर्नेको संख्या बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । एसियन ट्रेकिङका अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा उल्लेख्य संख्यामा आरोही आइरहेको बताउनुहुन्छ । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा ४ सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । 

    २३ करोडभन्दा बढी राजस्व

    हिमाल आरोहणको अनुमतिबापत हालसम्म २३ करोड ७५ लाख ७ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । सगरमाथाबाट मात्रै २० करोड ९८ लाख २२ हजार रुपैयाँ आम्दानी भएको छ । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई ११ लाख रुपैयाँ र नेपालीलाई ७५ हजार रुपैयाँ राजस्व लिने गरिएको छ । विदेशीले एकपटक सगरमाथा आरोहण गर्दा ३० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गर्छन् । 

    खुम्बु आइसफलमा बाटो बन्दै

    यस याममा आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का लागि सगरमाथा क्षेत्रमा खटिएको विभागले जनाएको छ । यो याममा सगरमाथा आरोहणका लागि रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ ।

     
    उक्त कम्पनीमार्फत जाने दक्ष शेर्पाले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो खुलाउँछन् । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाइरहेको छ । अहिले खुम्बु आइसफलमा बाटो बनाउने कार्य जारी रहेको समितिले जनाएको छ ।
    रासस