२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

‘३३ पोखरी परिक्रमा’को अवधारणामा नयाँ पर्यटकिय गन्तव्य



  • आफ्नै खबर
  • २७ चैत २०८० मंगलबार (१ बर्ष अघि)
  • पाठक संख्या ४७५
  • भक्तपुर/ आर्थिक समृद्धिका लागि उद्योग, वाणिज्य र पर्यटनको चर्चा तथा भक्तपुरमा रहेका ३३ पोखरीलाई पर्यटकीय गन्तव्यको एउटै मालामा समेट्ने उद्देश्यसहित भक्तपुर टुर्सले यो वर्षको नयाँ वर्ष २०८१ वैशाख १ गते ३३ पोखरी पदयात्रा कार्यक्रम गर्ने भएको छ ।

    भक्तपुरको पहिचानको रूपमा रहेको ङातापोल्ह (न्यातपोल) मन्दिरमा ३३ वटा खुड्किला रहेको र ती खुड्किलाको प्रतीक मानेर ३३ पोखरीको परिक्रमा गर्ने चलन केही वर्षअघि सुरु गरिएको हो । ङातापोल्ह देगल देखिने पाँचाख्यबाट सुरु हुने यात्रा च्याम्हासिंको पोखरीपछि पाँचाख्यमै पुग्दा पूरै भक्तपुर परिक्रमा हुने आयोजकको भनाइ छ । 

    प्राचीनकालमा पानीको स्रोतका रूपमा निर्माण गरिएका भक्तपुर (भाँदगाउँ) सहरका पोखरी अहिले पर्यटकीय गन्तव्यका रूपमा परिणत भएका छन् । यस सहरको आर्थिक विकासका लागि विदेशीहरूबाट उठाइएको प्रवेश शुल्कले उल्लेख्य योगदान गरे पनि उनीहरूकै शुल्कबाट पुनर्निर्माण गरिएका पोखरीहरूमा पर्यटक विरलै पुग्ने गरेका छन् । अन्तर्राष्ट्रियस्तरका पर्यटक गाइड बुकहरूमा यहाँका पोखरीहरूको सूचना नराखिँदा पर्यटकहरूले जानकारीको अभावमा पोखरी अवलोकन गर्न छुटाउने गरेको यहाँका बासिन्दाको अनुभव छ । 

    भक्तपुर नगरमा रहेका केही चर्चित पोखरी

    सिद्धपोखरी

    पश्चिम भक्तपुरमा रहेको यस पोखरीमा हरेक वर्ष इन्द्रजात्राको दिनमा मेला लाग्ने गरेको छ । १५ वर्षयता स्थानीयवासीले सो दिन पोखरीपरिसरमा दीपावली गर्दै आएका छन् । दीपावली हेर्न सो रात २०औँ हजार मानिस त्यहाँ पुग्ने गरेका छन् । 

    नपुखु

    भक्तपुर नगर प्रवेश गर्नेबित्तिकै टेलिकम टावरमुनि रहेको नपुखुको भित्री डिलमा ढुंगा बिच्छ्याएपछि यहाँभित्र मानिसको चहलपहल बढेको छ । पोखरीको उत्तरबाट चाँगुनारायण मन्दिर रहेको डाँडो र मन्दिरको गजुरसमेत हेर्न सकिन्छ । 

    कालदह

    भक्तपुर उद्योग क्षेत्रभित्र अनि नपुखुको मुन्तिर कालदह रहेको छ । जनैपूर्णिमाका दिनमा मेला लाग्ने यस कालदहमा चारैतिर देवदेवीका मूर्तिहरू स्थापना गरिएका छन् । 

    चिल्ड्रेन पुखु

    नवदुर्गा चलचित्र भवनको तलपट्टि सहिद पार्कभित्र रहेको पोखरी चिल्ड्रेन पुखु हो । भादगाउँकै एक मात्र गोलाकार पोखरीको रूपमा रहेको यस क्षेत्रमा सहिदहरूको मूर्तिसमेत कुँदिएका छन् । 

    भण्डारखाल पोखरी

    भक्तपुर दरबारको सेतो ढोकाबाट प्रवेश गरेलगत्ते बायाँपट्टि फूलैफूल उम्रिएको एउटा ढोका देखिन्छ । सो ढोकाभित्र छिरेपछि देखिने सानो पोखरी भण्डारखाल पोखरी हो । ढोकामा पुलिसथानाको साइनबोर्ड देखिने भएकाले भण्डारखाल पोखरी कमै मात्रले अवलोकन गर्ने गरेका छन् । 

    सुन्दरी चोक

    भक्तपुर दरबारको सुनढोकाभित्र चारैतिर नागनागिनाको मूर्ति कुँदिएको पोखरी छ । यो पोखरी रहेको ठाउँलाई सुन्दरी चोक भनिन्छ । यस चोकमा राजपरिवार सदस्यहरू स्नान गर्दथे भन्ने जनश्रुति रहेको छ । 

    रुञ्चे पोखरी

    भक्तपुर दरबारको मूलचोकभित्र पातपतिंगरले भरिएको एउटा पोखरी छ । यस पोखरीमा बालबालिकालाई स्नान गराइएमा रुञ्चेपना हट्ने विश्वास रहेको छ । विदेशी पर्यटकलाई यस पोखरीमा प्रवेशमा रोक लगाइएको छ । यहाँ तल्कालीन मल्ल राजाको कुलदेवता रहेकाले विदेशीलाई प्रवेश गर्न नदिइएको हो । 

    व्यासी पोखरी

    व्याँसीमा दुईवटा पोखरी छन् । यी पोखरीवरिपरिका बाटामा बिस्कुन सुकाइएको रमाइलो दृश्य देखिन्छ । यहाँका बासिन्दालाई लासिवा भनिन्छ । नेवार भाषामा लासिवा शब्दको अर्थ बाटोमा बिस्कुन सुकाउने मानिस भन्ने रहेको छ । 

    ख्योपुखुचा

    महाकाली मन्दिरसँगै रहेको ख्योपुखुचामा सुतिरहेको विष्णुको मूर्ति राखिएको छ । यस पोखरीमा हरेक तीन वर्षमा साउन महिनाभरि मेला लाग्छ । यसैगरी हरेक वर्षको फूलपातीको दिनमा यहाँ मेला लाग्ने गर्दछ । अचाँ पुखुको नामले समेत यो पोखरीलाई चिनिछ ।

    भौलापुखु

    भोलाछे टोलमा रहेको भौलापुखुबारे एउटा किंवदन्ती रहेको छ । जसअनुसार हाल पोखरी रहेको स्थानमा भौ अर्थात् बिरालोहरू झगडा गर्दथे । यहाँ बिरालो झगडा गर्दागर्दै कालान्तरमा ठूलो खाडल बनेर पोखरी बनेको र पछि भोलापुखुमा परिणत भएको भनाइ रहेको छ । पोखरीवरिपरि नारायण, शिव र गणेशका मन्दिर रहेका छन् । 

    नागपोखरी

    थालाछेमा रहेको नागपोखरीमा रहेको नागको मूर्ति पूर्व दिशामा फर्केका छन् । उक्त पोखरीमा स्थानीय छिपा समुदायले धागोमा रंग लाउने गरेका छन् । प्रयोग भइसकेको रंग पोखरीको पानीमा मिसाइने भएकोले पोखरी रंगीन देखिने गरेको छ । 

    नवदुर्गा पोखरी

    नवदुर्गा मन्दिरको छेवैमा फराकिलो नवदुर्गा पोखरी रहेको छ । यो क्षेत्र भक्तपुरकी एकान्तकुमारी विराजमान हुने प्रसन्नशील महाविहार जाने प्रमुख स्थान भएकाले यहाँ नेपाली पर्यटकको चहलपहल बाक्लो हुने गरेको छ । 

    लामागाल

    कमलविनायकको सरस्वती स्कुलपरिसरमा रहेको लामागाल पोखरीमा माछापालन गरिएको छ । सुक्खायाममा स्थानीयले यहाँको पानी प्रयोग गर्दै आएका छन् । 

    कमलपोखरी

    दशकअघिसम्म कमल फुल्ने गरेको कमलपोखरी हिलोमुक्त भएकाले कमल त फुलेको छैन । तर, पोखरीको पश्चिम भागमा भने बगैँचा निर्माण गरिएको छ । दक्षिणमा सन्ध्याकालीन मेला लाग्ने गरेको पूर्वमा यातुगणेशको मन्दिर रहेको छ । 

    गरुडकुण्ड

    च्याम्हासिंमा रहेको गरुडकुण्डलाई कुह्म समुदायले पार्कमा परिणत गरेका छन् । उनीहरूले त्यहाँ ३ सयवटा गमला राखेर फूल रोपेका छन् । पार्कभित्र रहेको गरुडकुण्डमा मुहानको पानी संकलन भइरहेको विचित्रको दृश्य देखिन्छ । 

    च्याम्हासिं पुखु

    आठवटा सिंहका मूर्ति रहेको च्याम्हासिं पुखु एउटा विद्यालय हातामा रहेको छ । सो विद्यालयका विद्यार्थीलाई पोखरीको पर्यावरणीय चक्र प्रणालीको प्रयोगात्मक ज्ञान दिन पोखरीको उपयोग हुँदै आएको छ । बसपार्कसँगै भएकाले च्याम्हासिं आउने जो–कोही देशी तथा विदेशी पर्यटकले यो पोखरी अवलोकन गर्दै आएका छन् । 

    खँचापुखु

    प्रसिद्ध पाँचतले मन्दिरको छाया देखिने खँचा पोखरी खँचा टोलमा रहेको छ । माहेश्वरीखोलाको उकालो उक्लेपछि पुगिने खँचा पोखरीमा पानी नहल्लिएको बेला आधा किलोमिटर टाढा रहेको राष्ट्र बैंकले जारी गरेको सय रुपैयाँको नोटमा अंकित उक्त मन्दिर स्पष्टसँग देखिन्छ । 

    यातापुखु

    याता टोलमा दिनभरि घाम लाग्ने भएकाले याता पोखरीमा रहेको पानी तातेको हुन्छ । जाडो महिनामा हनुमन्तेघाटमा माघको स्वस्थानी व्रत बस्नेहरू यस पोखरीमा स्नान गर्न रुचाउँछन् । यसलाई तातो पानीमा स्नान गर्ने व्यावसायिक पोखरीमा परिणत गर्ने स्थानीय सरकारको योजना रहेको छ । 

    तेखापुखु

    तेखा पोखरीको नामले समेत चिनिएको भक्तपुरको बजार क्षेत्रमा पर्ने एक मात्र पोखरी हो । यो पोखरी वंशगोपालको बजार छेवैमा रहेको छ । होलीपूर्णिमाका दिनमा यहाँ रंग र पानी खेल्नेहरूको मेला लाग्ने गरेको छ । 

    यसबाहेक भक्तपुरमा रहेका अन्य पोखरीले पनि यहाँको परिचय दिइरहेका छन् । पोखरी भनेको पानीको स्रोत मात्र नभएर आसपासको तापक्रम सन्तुलित राख्ने वैज्ञानिक पद्धति पनि हो । पोखरी भएका क्षेत्रहरूमा गर्मी र जाडोको अन्तर कम हुने गरेको छ । यसै कारण घनाबस्ती रहेका स्थानहरूमा पोखरी निर्माण भएका हुन् । तिनै पोखरीसँग जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरी सर्किटको अवधारणा विकास गरिएको हो ।