१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

गाउँ रित्तिनुमा वैदेशिक रोजगारी र ‘सहरको रहर’ मात्र होइन

पहिरोका कारण रित्तिँदै छ म्याग्दीको चौरखानी गाउँ



  • आफ्नै खबर
  • २८ चैत २०८० बुधबार (८ महिना अघि)
  • पाठक संख्या ७३
  • म्याग्दी/  पछिल्लो समय नेपालका गाउँहरू रित्तिँदै गएका छन् । अवसरको कमी, वैदेशिक रोजगारी, सहरको रहरजस्ता कारण गाउँमा जनसंख्या घट्दै गएको छ । पछिल्लो समय स्थानीय तह आर्थिक रूपमा बलियो हुँदै जाँदा अवसरको सम्भावनाले गाउँ सदरमुकामहरूमा केही चहलपहल देखिए पनि गाउँका मानिस जन्मथलोमा रम्न सकेका छैनन् । अझ भनौँ रम्ने अवस्था छैन । मुख्यतः आर्थिक कारणले मानिसले गाउँ छोड्दै आएका छन् । 

    तर, म्याग्दीको रघुगंगा गाउँपालिका– ८ मा रहेको चौरखानी गाउँको कथा फरक छ । यो गाउँ आर्थिक नभई सुरक्षाको कारण रित्तिन सुरु भएको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानी आधा खाली भइसकेको छ । त्यहाँ रहेका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोवास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताउनुभयो ।

    ‘०६३ मा चौरखानीका ५३ वटै घरमा बसोवास थियो,’ उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो ।’ वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले १८ वटा घर भत्किएका छन् । आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाएर बसाइँ सरेका छन् । आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौंलगायत ठाउँमा गएर बसेका हुन् । घर भए पनि बसोवास छैन । बर्खामा गोठमा गएर बस्ने गरेका छन् । 

    गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए । यस वर्ष थप ६ वटा घर पुनर्निर्माण भइरहेको छ । गाउँपालिकाले पहिराबाट घर भत्किएकालाई पुनर्निर्माणका लागि रु. पाँच लाखका दरले अनुदान उपलब्ध गराएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । ‘पहिरोले हजारौँ रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ,’ उहाँले भन्नुभयो, ‘रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो ।’ यहाँ छन्त्याल र दलित समुदायको बसोवास रहेकोमा हाल दलित समुदायको एउटा मात्र घर छ ।

    भूगर्भविद्को टोलीले चौरखानीमा बसोवासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो । गाउँको बीचमा पहिरोले ठाडो चिरा बनाएको छ । खेतबारी र जंगल चिराचिरा परेको छ । पहिरोले उठीवास लगाएपछि बसाइँसराइ गरेको चौरखानीका रेश विकले बताउनुभयो । उहाँको परिवार हाल गाउँपालिकाको केन्द्र मौवाफाँटमा बसोवास गर्दै आएको छ । 

    दुई किलोमिटर तल रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताउनुभयो । बर्सेनि ग्यावियन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन । पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?