तनहुँ/ आँबुखैरेनी गाउँपालिकामा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याउन लागिएको हो ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी उक्त कम्पनीसँग सम्झौता गरिसकेको छ
।
उक्त जलाशयमा तत्काल १ करोड रुपैयाँको लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले बताउनुभयो । मोटरबोट सञ्चालनले उक्त स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ ।
जलाशयमा नेपालकै पहिलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ । जलाशयनजिक धार्मिक स्थल अल्कादेवी मन्दिर पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष चुमानको भनाइ छ । साथै पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कम्पनीले थप ३ करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु प्वाइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने योजना बनाएको छ ।
कम्पनीले हाल नेपालगन्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरूलाई मोटरबोट सेवा दिँदै आएको छ । कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सञ्चालक ढकालले जानकारी दिनुभयो ।
मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न प्रतिव्यक्ति २ सय ५०, १० देखि १२ मिनेटसम्मका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र १५ देखि २० मिनेटसम्मका लागि प्रतिव्यक्ति हजार रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस