१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

शुभकामना आदानप्रदान गरी इद मनाउँदै मुस्लिम समुदाय



  • आफ्नै खबर
  • २९ चैत २०८० बिहिबार (२ बर्ष अघि)
  • पाठक संख्या १६३
  • काठमाडौँ- देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । ३० दिनको व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । 

    बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी ५ स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । 

    ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित मस्मिरी मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साट्नेहरुको भीड रहेको छ। एकअर्कालाई अंकमाल गरेर ‘ईद मुबारक’ भन्दै महिला तथा पुरुषहरुले शुभकामना दिएका छन्।

    हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्वी सौव्वाल महिनाको पहिलो दिनमा ईद मनाउने गर्दछन्। ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ।

    चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ। ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ।

    इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८  अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।