रसुवा/ तिलगंगा सामुदायिक आँखा केन्द्र धुन्चेले दृष्टि कमजोर भएका स्कुले छात्रछात्राले लगाउने चस्माको मूल्यमा छुट दिन थालेको छ । विद्यालयले गरेको सिफारिस वा निजका साथमा रहेको परिचयपत्रका आधारमा विद्यार्थीले रोजेका चस्माको मूल्यमा केन्द्रले सहयोगस्वरूप प्रतिविद्यार्थी एक हजार रुपैयाँका दरले छुट दिन थालेको हो ।
दृष्टि कमजोर भएका विद्यार्थीलाई चस्मामा छुट दिन थालेपछि हिमाली ग्रामीण क्षेत्रका विपन्न छात्रछात्रालाई ठूलो राहत भएको विद्यालयका शिक्षक बताउँछन् । उक्त सुविधा जिल्लामा नै पहिलोपटक दिइएको केन्द्रले जनाएको छ ।
सम्बन्धित विद्यालयको सिफारिसका आधारमा ७० जना छात्रछात्रालाई आँखाको शक्ति परीक्षण गरी एक हजार रुपैयाँ छुटमा चस्मा प्रदान गरिएको केन्द्रकी प्रमुख उर्मिला तामाङले जानकारी दिनुभयो । विद्यार्थीको आँखामा केही समस्या देखिएमा तुरुन्तै धुन्चेमा रहेको तिलगंगा आँखा केन्द्रमा परीक्षणका लागि पठाएर सहयोग गरिदिन उहाँले अनुरोध गर्नुभएको छ ।
रेडक्रस सभापति एवं रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा सहभागी स्थानीय राजनीतिक नेताहरूले जिल्ला रेडक्रस र केन्द्रले सञ्चालन गरेको आँखाको उपचार सेवा हिमाली जिल्ला रसुवाका लागि प्रभावकारी बन्दै गएको बताउनुभएको थियो । विभिन्न समयमा गाउँगाउँमा गरिएका निःशुल्क आँखा शिविर थप लोकप्रिय र प्रभावकारी बनेको सहभागीको भनाइ थियो ।
रासस
प्रतिक्रिया दिनुहोस