१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

वन्यजन्तुको वासस्थानलाई नै चिडियाखानामा परिणत गरिने



  • आफ्नै खबर
  • २९ चैत २०८० बिहिबार (८ महिना अघि)
  • पाठक संख्या ५७
  • पर्सा/ पर्सामा वन्यजन्तुको वासस्थानमै चिडियाखाना निर्माण सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जले वीरगञ्ज महानगरपालिका–३१ को सोलखपुर र वडा नम्बर ३२ स्थित रामवनमा चिडियाखाना निर्माणको काम अघि बढाएको हो ।

    पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षासहित चिडियाखाना निर्माण थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो । ‘चिडियाखाना निर्माण हुने ५० हेक्टर क्षेत्रफलमा अहिले बार लगाउने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यसका साथै परामर्शदाता नियुक्त गरेर चिडियाखानाको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम अघि बढेको छ ।’ डिपिआर तयार भएलगत्तै चिडियाखानाको भौतिक संरचना निर्माण थालिने उहाँले बताउनुभयो । 

    चिडियाखाना निर्माणका लागि ३ अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने र डिपिआर तयार भएपछि स्रोतको खोजी गरी निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । चिडियाखाना पर्सा राष्ट्रिय निकुञ्जले निर्माण गर्ने र वीरगन्ज महानगरपालिकाले त्यसलाई सञ्चालन गर्ने गरी सम्झौता भएको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताउनुभयो । 

    चिडियाखाना स्थापनाका लागि वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३१ को सोलखपुर र वडा नम्बर ३२ को रामवन क्षेत्रमध्ये वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को रामवन क्षेत्रमा पर्ने सबैया साझेदारी वन उपभोक्ता समूहले आफ्नो साझेदारी वन क्षेत्रमा चिडियाखाना स्थापनाका लागि सहमति दिएको छ । 

    सबैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको घाँस बुट्यान क्षेत्रले ३९.४ हेक्टर, सघन क्षेत्रले ७.५ र अतिक्रमण क्षेत्रले ३.१ हेक्टर ओगटेको छ । उष्ण साल वन क्षेत्र रहेको सो वनमा मुख्य प्रजाति साल, कर्मा छ भने कहिलेकाहीँ घुमन्ते बाघ देखिने त्यस क्षेत्रमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगा, मैना, गरुड र सारस पनि पाइन्छन् । उक्त क्षेत्रमा घस्रिने कृमिवर्गका गोमन, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि पाइने भएकाले यहाँ चिडियाखाना बनाउन उपयुक्त हुने संरक्षण अधिकृत खतिवडाको भनाइ छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?