३० जेठ २०८२ शुक्रबार | 13 Jun 2025 Fri

तयार भयो ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्ने विशेष सुरक्षा योजना



  • आफ्नै खबर
  • २९ चैत २०८० बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या ९६
  • काठमाडौं/ ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ । सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउँले आयोजना गरेको ‘लागुऔषध दुव्र्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया’मा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना तयार भएको बताउनुभएको हो । 

    उहाँले भन्नुभयो, ‘ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुन सक्ने सम्भावित क्षेत्रको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ ।’ परिसर प्रमुख खत्रीले पछिल्लो समय काठमाडौंसहित देशभर लागुऔषध दुव्र्यसनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि काठमाडौं प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो ।

    चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने ३ हजार ७ सय मुद्दा काठमाडौं प्रहरीमा दर्ता भएको उहाँको भनाइ थियो । यस्तै, देशभरमा लागुऔषध दुव्यर्सनीसम्बन्धी ४ हजारभन्दा बढी मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिका– ४ का वडाध्यक्ष दिनेश महर्जनले लागुऔषध दुव्र्यसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

    सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसंगति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो । उहाँले समाजमा हुने लागुऔषध दुव्र्यसनी, साइबर अपराधलगायतको नियन्त्रणमा सामुदायिक सेवा केन्द्रले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

    प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) अम्बरबहादुर थापा क्षेत्रीले पछिल्लो समय युवा पुस्ता लागुऔषध दुव्र्यसनी र साइबर अपराधमा फसेको भन्दै यसलाई न्यूनीकरणका लागि प्रहरीले समाजसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।