काठमाडौं/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त (अवकाश) हुनुभएको छ । उहाँ ०७२ साल चैत २९ गते खुला प्रतिस्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथमपटक तथा ०७६ चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको थियो ।
बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा ०८० साल चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई कायममुकायम (कामु) को जिम्मेवारी तोकिएको छ ।
बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहबीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाइ गरिएको छ । उक्त समारोहमा प्रतिस्पर्धी बैंकिङ बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रूपमा उभ्याउन श्रेष्ठले गर्नुभएको योगदानबारे चर्चा गर्दै उहाँप्रति आभार व्यक्त गरिएको थियो । श्रेष्ठले आठ वर्षको अवधिमा आफूले पाएको साथ र सहयोगप्रति सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरू, विभागीय प्रमुखहरू, प्रादेशिक प्रबन्धकहरूलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस