१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

मनास्लु पदमार्गमा ‘पर्यटकीय सूचना बोर्ड’



  • आफ्नै खबर
  • २९ चैत २०८० बिहिबार (२ बर्ष अघि)
  • पाठक संख्या १४७
  • गोरखा/ मनास्लु क्षेत्रमा घुम्न जाने पर्यटकको सहजताका लागि सूचना बोर्ड राख्न थालिएको छ । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको हो । 

    धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको ६ ठाउँमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पदमार्गको विभिन्न ६ ठाउँमा सूचना बोर्ड राखिसकेका छौँ । बाँकी स्थानमा तीव्रताका साथ काम भइरहेको छ ।’
    पदमार्गमा पर्ने लापुबोसीमा रहेको प्रिन्स ह्यारी हिल्ड र खानीबोसी, माछाखोलाको १–१ स्थानमा, खोर्लाबोसी र मार्साका २–२ स्थानमा बोर्ड राखिसकिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपालिकाको संयुक्त साझेदारीमा पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको हो । 

    सूचना बोर्डमा पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्काे ठाउँसम्मको दूरीलगायत जानकारी उल्लेख गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार समितिले यसपटक तल्लो मनास्लु पदमार्गअन्तर्गत पर्ने विभिन्न २५ स्थानमा सूचना बोर्ड राख्न लागेको छ । 

    केरौजाबोसी, मार्सा, दोभानखोला, हुल्चुकको कालपोखरी जाने र रुन्चेत जाने स्थान, यारुफाँट, हनी हन्टिङ गर्ने ठाउँ अन्तरबोसी, सिङ्ला, थमन भिसीगाउँ, यामगाउँ, गुम्दा, भिरकोटलगायतका ठाउँमा सूचना बोर्ड राखिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । ‘सूचना बोर्डमा पदमार्गअन्तर्गत पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जंगली जनावरबारे पनि जानकारी रहनेछन्,’ उहाँले भन्नुभयो, ‘यसले पर्यटकलाई पर्यटकीय गन्तव्यबारे बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रा गर्न सजिलो हुनेछ ।’