१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

नेसंवि र बेइजिङ फरेन स्टडी युनिभर्सिटीबीच सहकार्य सम्झौता

नेसंवि र फरेन स्टडीबीच विद्यार्थी आदानप्रदान हुने



  • आफ्नै खबर
  • २९ चैत २०८० बिहिबार (८ महिना अघि)
  • पाठक संख्या ९८
  • काठमाडौँ/ विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार सहकार्य सम्झौताका लागि वाल्मीकि विद्यापीठ पुगेको छ । यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग गरिसकेको चिनियाँ टोली नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो । 

    नेसंविका उपकुलपति प्राध्यापक डा यादवप्रकाश लामिछाने तथा बेइजिङ फरेनको परिषद् अध्यक्ष प्राध्यापक डा वाङडिङ्ग हुवाबीच सहकार्यसम्बन्धी पाँच बुँदे सम्झौतामा  हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेसंवि र फरेन स्टडीबीच विद्यार्थी आदानप्रदान गरिनेछ । साथै दुवै विश्वविद्यालयले एकअर्काका प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारीलाई समेत आदनप्रदान गर्नेछन् ।

    यसैगरी दुवै विश्वविद्यालयले संयुक्त रूपमा डिप्लोमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमसमेत सञ्चालन गर्नेछन् । सम्झौताअनुसार दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धान गर्न सहकार्य गर्नुका साथै दुवै विश्वविद्यालयसँग रहेका शैक्षिक सामग्री र सूचनासमेत आदनप्रदान गरिने सम्झौतामा उल्लेख छ । 

    सम्झौता कार्यान्वयनका लागि दुई विश्वविद्यालयबीच थप गृहकार्य गरिने, आर्थिक पक्षसम्बन्धी विषयमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गरिने पनि सम्झौतापत्रमा उल्लेख छ । सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुने उल्लेख छ ।

    हस्ताक्षर कार्यक्रममा बोल्दै चिनियाँ विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक हुवाले सम्झौताले दुई विश्वविद्यालयबीच मात्र नभई नेपाल र चीनबीचकै दौत्य सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो । विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयसँग फरेन स्टडी युनिभर्सिटीले यस प्रकारको सम्झौता गरिसकेको उहाँले जानकारी दिनुभयो । 

    प्राध्यापक डा हुवाले दुई विश्वविद्यालयबीच गहन सहकार्यका लागि दुवैले प्राज्ञिक ज्ञानको आदानप्रदान सुरु गर्नुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत सुरु गर्नुपर्ने बताउनुभयो । यसैगरी अनुसन्धानको क्षेत्रमा दुवै विश्वविद्यालयबीच सहकार्य गरिनुपर्ने धारणा उहाँको थियो । 

    चिनियाँ विश्वविद्यालयले संस्कृत र नेपाली भाषामा अध्ययन गर्नतर्फ विशेष रुचि देखाएको हुवाले बताउनुभयो । संस्कृत भाषाको अध्ययन अध्यापनका दृष्टिले नेसंविको महत्व विश्वव्यापी रहेको धारणा उहाँको थियो । 

    नेसंविका उपकुलपति लामिछानेले संस्कृत भाषाप्रति चिनियाँ प्राज्ञहरूको मोह सम्मान योग्य भएको बताउँदै दुई विश्वविद्यालयबीच आगामी दिनमा गहन सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । 

    सम्झौता हस्ताक्षर समारोहमा फरेन स्टडी युनिभर्सिटीका तर्फबाट अध्यक्ष हुवाका साथमा एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष  छू ए, निर्देशक हे जेङ्ग र त्रिभुवन विश्वविद्यालय स्कुल अफ एसियन स्टडिजकी निर्देशक जिङ्ग युन (इन्दिरा) को उपस्थिति थियो ।

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?