स्याङ्जा/ ढुङ्गा, माटो र काठबाट बनेका परम्परागत शैलीका घर । ढुङ्गा नै बिछ्याइएको बाटो । सफा, सुन्दर र चिटिक्क भएको विशेषता बोकेर बसेको स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्वर १ मा रहेको पर्यटकिय गाउँ हो सिरुवारी ।
दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँको पगरी गुथेको यो गाउँ आफ्नै वेशभूषा र संस्कृतिले भरिएका गुरुङहरूको बस्ती हो । अहिले यो सिङ्गै गाउँ घरबास अर्थात होमस्टे सञ्चालन गर्नेहरूका लागि पाठशाला नै बनेको छ । त्यसैले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँका गाउँलेलाई गुरु थाप्दै होमस्टेको ज्ञान र सीप लिन आइपुग्छन् ।
क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङको परिकल्पनामा २०५४ सालमा सञ्चालनमा आएको सिरुवारी होमस्टे २७ वर्ष देखि आन्तरिक तथा बाह्य पर्यटकलाई आतिथ्य प्रदान गरिरहे पनि अझै थाकेको छैन । हो, उसमा अहिले २७ वर्षे युवाको जोश र जाँगर छ । पाहुनाहरू कुनै कारणले असन्तुष्ट हुने हुन् की भनी समय समय चिन्तित हुँदै दोव्वर जोश र जाँगरका साथ आतिथ्य पस्कन्छ ।
सडक सञ्जालको सहज पहुँच र प्रचारप्रसारले गर्दा दिनप्रतिदिन यहाँ आउने पर्यटक बढिरहेका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहनसँगै यहाँको बाक्लो बस्तीले धेरैलाई आकर्षित गरेको छ । हाल २१ वटा घरमा सञ्चालनमा रहेको होमस्टेले दैनिक १ सय ६० जना पाहुनालाई आतिथ्य प्रदान गर्न सक्छ ।
पछिल्लो ५ वर्षमा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको सिरुबारी सामुदायिक घरबासकी संयोजक उर्मिला गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार पहिले विदेशी पर्यटक मात्रै आउने गरेकामा अहिले आउने धेरै पर्यटक आन्तरिक हुन्छन् ।
केही वर्ष अघिसम्म ग्रामीण पर्यटन भन्ने विषय धेरैलाई जानकारी नहुँदा विदेशी पर्यटक मात्रै आउने गरेकोमा पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालन भएसँगै प्रचारप्रसार र सरकारका पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न नीतिका कारण सिरुवारी आउने पर्यटकको सख्या पनि महिनामै झण्डै ३ हजारसम्म पुग्न थालेको गुरुङको भनाइ छ । असार र साउनमा पर्यटक आगमन निकै कम हुने गरे पनि असोजदेखि यहाँका सबै घरबास दैनिकजसो भरिभराउ हुने बताइरहँदा संयोजक गुरुङ सन्तुष्टिको सास लिनुहुन्छ । पर्यटकको चापकै कारण सिरुवारी घुम्न चाहनेले केही दिनअघि नै ‘बुकिङ’ गर्नुपर्ने अवस्था आएको छ ।
पाहुना लोभिने कारण
घरबासमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिने र पाहुनाले माग गरेअनुसारका परिकार उपलब्ध गराउने हुँदा धेरैको रोजाइमा सिरुबारी परेको सिरुबारी सामुदायिक घरबासका अध्यक्ष जितेन्द्र गुरुङ बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ ‘पाहुना आउनेबित्तिकै परम्परागत पोशाकमा बाजागाजासहित प्रवेशद्वारमा स्वागत गर्न पुग्छौं । यसले पाहुनालाई बढी आकर्षित गरेको पाएका छौँ । यहाँको खाना, हाम्रो जनजीवन र मिलेको बस्ती उहाँहरूलाई बढी मन पर्दा रहेछ ।’
सिरुबारीमा वास्तविक ग्रामीण जीवनशैली देख्न पाइने बताउनुहुन्छ चितवनबाट घुम्न आउनुभएकी देवी शर्मा । खासगरी सहर बजारमा बस्नेले गाउँको परिवेश थाहा नहुने भन्दै बालबालिका लिएर यहाँको अध्ययन-अवलोकनमा आएको उहाँको भनाइ छ । सिरुबारी गाउँले कला, संस्कृति र परम्परा मात्र नभई एउटा इतिहास सिकाउने थलोसमेत रहेको शर्माको बुझाइ देखिन्छ ।
भैरहवाबाट सिरुबारी अवलोकनका लागि आउनुभएका हरिप्रसाद ज्ञवालीले स्थानीयले प्रदर्शन गर्ने मौलिक गीत र नृत्यले आफू प्रभावित बनेको बताउनुभयो । पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालनमा आए पनि पुराना कला, संस्कृति भने कमैमात्रामा देखाउने गरेको उहाँको भनाइ छ ।
यस्तो छ आतिथ्य परम्परा
यहाँ आउने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयले स्वागत गर्छन् । बाजागाजाका साथ फूलमाला पहि¥याएर स्वागत गरिँदा यहाँ आउने पाहुनाले आतिथ्यको महत्व बुभ्mछन् । उनीहरूलाई स्वागत गर्दै गाउँ बीचमा रहेको गुम्बामा पु¥यापछि सगुन खुवाएर बस्ने घर तोकिन्छ ।
पाहुनाहरू तोकिएकै घरमा गएर बस्ने गर्छन् । राति ८ बजे पाहुनालाई स्थानीय उत्पादनका परिकार खुवाएर करिब ११ बजेसम्म मौलिक संस्कृतिका मनोरञ्जनात्मक कार्यक्रम देखिन्छ । सिरुबारीमा पुग्ने अधिकांश पर्यटक यहाँको जनजीवन बुझ्न, कला, संस्कृतिमा झुम्न बढी रुचाउँछन् ।
प्रतिक्रिया दिनुहोस