प्रकाशकीय
पात्रो र क्यालेण्डर फेरिने मात्र होइन नयाँ वर्ष । उमेर बढ्ने र एक साल घर्कने कडी मात्र पनि होइन नयाँ वर्ष । एक वर्षभरि गरेको कामको अनुभव फेरि अर्को वर्ष बढेको छ भनुँ वा उमेर भरको अनुभवमा नयाँ वर्षले फेरि अर्को एक वर्षको अनुभव थपियो भनुँ । जे होस्, ३६५ दिनमा ३६५ नयाँ कुरा तपाईंले पनि सिक्नुभयो होला । मैले पनि सिकेँ होला ।
३६५ फरक फरक अनुभव तपाईंले पनि लिनुभयो होला । मैले पनि लिएँ होला । केही सम्झियो, केहि सम्झिएन । जे होस्, सामाजिक सञ्जालका पानाभरी लहराएका नयाँ वर्षका शुभकामनाका शव्द/चित्रहरूले नयाँ वर्षलाई सबैले व्यग्रताका साथ प्रतीक्षा गरेको प्रतीत हुन्छ ।
आशा वा निराशा जे छोडेर गए पनि २०८० हामीबाट बिदा भएको छ । ती ३६५ दिनका अनुभव र अनुभूति अनि त्यसबाट लिएका पाठको सकारात्मक पाटो खोज्दै २०८१ मा नयाँ सङ्कल्पसहित अघि बढ्नुको विकल्प छैन । सकारात्मकताको यही पाटो कोट्याउँदै हामी पनि सूचना र समाचारको महासागरमा एक फरक ढंगले बाँकटे हान्न सकिन्छ कि भन्ने विषयमा परीक्षा दिन होमिएका छौं । सूचनाका हरेक प्रश्नमा नकारात्मकतालाई केही पर धकेल्दै सकारात्मकता फैलाउने हाम्रो उद्देश्य हुनेछ ।
हामी गालीमा विश्वास गर्दैनौं । नकारात्मक समाचारमात्र बिक्ने मान्यताका साथ जवरजस्ती जलप लगाइएका समाचारले कतै समाज नै नकारात्मक सोचको दास त बनिसकेको छैन ? यसतर्फ केही सोच्नुपर्ने समय आइसकेको त होइन भन्ने हामीलाई लागेको छ ।
त्यसैले सकारात्मक समाचार र देशको आर्थिक समृद्धिका लागि पर्यटकीय क्षेत्र र स्थानीय उत्पादनको प्रवर्द्धनलाई केन्द्रविन्दुमा राख्दै अघि बढ्ने छौं । यसो भनिरहँदा पत्रकारिताको मूल मान्यतालाई कुनै पनि हालतमा नछाड्ने हाम्रो सङ्कल्प कायमै छ । यसलाई अघि बढाउन यहाँहरूको सिर्जनात्मक सुझाव तथा प्रतिक्रियाको सदैव अपेक्षा रहनेनैछ ।
नयाँ वर्षले सन्तुष्टिको सास फेर्न सक्ने वातावरण देओस् । सकारात्मक सोच र ऊर्जासहित सम्पूर्ण नेपालीका पाइला समृद्धितर्फ अघि बढुन् । नयाँ वर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना ।
सुदीपकुमार ढुङ्गाना
अध्यक्ष
तथा
आफ्नै खबर परिवार
प्रतिक्रिया दिनुहोस