१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

१५ दिनमै डढेलोले सकियो एउटै जिल्लाको २ सय हेक्टर वन



  • आफ्नै खबर
  • ३० चैत २०८० शुक्रबार (८ महिना अघि)
  • पाठक संख्या ५१
  • गुल्मी/  गुल्मीका सामुदायिक वनमा आगलागीका घटना बढ्दै गएको छ । आगलागीकै कारण जङ्गल वरिपरिका क्षेत्रमा बस्ने बासिन्दा दिनहुँ त्रसित बन्दै गएका छन् । 

    डिभिजन वन कार्यालय गुल्मीका अनुसार जिल्लामा आजसम्म २ सयभन्दा बढी हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको छ । दिनहुँजसो हुने आगलागीका घटनाले मानिसलाई आतङ्कित बनाउन थालेको छ । कहिले दिनमा त कहिले रातमा हुने गरेका आगलागीका घटनाले जङ्गल छेउछाउका स्थानीय बासिन्दा रातको समयमा पालो गरी सुत्नुपर्ने बाध्यता छ । रातमा सुतिरहेको अवस्थामा कहीँ कतैबाट गाउँमा आगो आउँछ कि भनेर मानिसहरु त्रासैत्रासमा रात गुजार्ने गर्दछन् । 

    गर्मी मौसम सुरु हुँदा यस्ता आगलागीका घटना बढ्दै जाने गर्दछन् । गएको २ साताको अवधिमा रेसुङ्गा, गुल्मीदरबार, सत्यवती, चन्द्रकोट, इस्मा, कालीगण्डकीलगायत पालिकामा बढी मात्रामा डढेलो लागेको छ । निजी जङ्गलमध्ये ६० हेक्टरमा डढेलो लागेको छ । निजी जङ्गलको तुलनामा सामुदायिक वन क्षेत्रमा आगलागीको घटना बढ्दै गएको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत राजन कुँवरले जानकारी दिनुभयो । 
    जङ्गलमा आगो लगाएपछि राम्रोसँग घाँस पलाउने, आगोले जङ्गलमा रहेका काठदाउरा सुक्ने हुँदा घाँस तथा दाउराको लोभमा वनमा डढेलो लगाउने बताइएको छ । मानिसमा चेतनाकै अभावका कारण गुल्मीमा दिनहुँ आगलागीका घटना बढेको डिभिजन वन कार्यालयका अधिकृत पङ्कजकुमार ठाकुरले बताउनुभयो । 

    उहाँका अनुसार आगो लगाउने व्यक्तिलाई कडा सजायको व्यवस्था छ । तर, आगो कसले लगाएको हो भन्ने बारेमा कुनै जानकारी प्राप्त नभएका कारण कतिपय घटनामा आवश्यक कानुनी कारबाही प्रक्रियाअघि बढाउन नसकिएको बताउनुभयो ।  आगलागीका कारण स्थानीयवासीलाई मात्र नभई जिल्लाका सुरक्षाकर्मीलाई हैरानी थपिएको छ । आगलागीको जानकारी पाएपछि प्रहरी र नेपाली सेना आगो नियन्त्रणका लागि घटनास्थलमा पुगेर आगो निभाउने काममा सक्रिय बनेका हुन्छन् । 

    जिल्लाका विभिन्न जङ्गलमा अहिले पनि डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणमा सुरक्षाकर्मीबाहेक स्थानीयको खासै चासो देखिँदैन । आगलागी नियन्त्रणकै क्रममा पछिल्लो ५ वर्षको अवधिमा ११ जनाको ज्यान गइसकेको छ । तर, राहतको प्रतीक्षामा बसिरहेका पीडित परिवारले भने अझैसम्म पनि राहत पाउन नसकेको मृत लोकबहादुर गुरुङका छोरा तेजेन्द्र गुरुङले बताउनुभयो । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?