इलाम/ जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माइजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक ६ वटा सिँचाइ आयोजना सुरु भएको हो ।
चालू आर्षिक वर्षमा सम्पन्न हुने गरी तीन करोड ८३ लाख १५ हजार रुपैयाँको लागतमा ६ वटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार ड्याम र पक्की कुलो धमाधम निर्माण भइरहेको छ ।
माइजोगमाई गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नम्बर १ मा दुईवटा, वडा नम्बर २ मा एउटा र वडा नम्बर ५ मा तीनवटा सिँचाइ योजना निर्माण भइरहेका छन् । वडा नम्बर १ को लप्सीबोटे फलाटेगाउँमा ८९ लाख ९७ हजार रुपैयाँको लागतमा ६३ घरका किसान लाभान्वित हुने गरी लक्ष्मीखोलाबाट लप्सीबोटे फलाटेगाउँ सिँचाइ कुलो निर्माणाधीन छ ।
त्यस्तै, सोही वडाको ठूलोबोसीमा ४२ लाख ७८ हजार रुपैयाँको लागतमा २६ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी हिलेखोलाबाट ठूलोबोसी सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा नम्बर २ को राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा ५० लाख ५५ हजार रुपैयाँको लागतमा ५८ घरका किसान लाभान्वित हुने गरी बजुर खोलाबाट सिँचाइ कुलो निर्माण सुरु भएको छ ।
वडा नम्बर ५ को साठीमुरे बोसीमा ३९ लाख ५८ हजार रुपैयाँको लागतमा २६ परिवार लाभान्वित हुने गरी ठोट्नी खोलाबाट र काफ्ले टोलमा ८२ लाख ६४ हजार रुपैयाँको लागतमा ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी सिँचाइ कुलो निर्माणाधीन छ ।
यसैगरी, ७७ लाख ६१ हजार रुपैयाँको लागतमा १ सय ४८ किसान प्रत्यक्ष लाभान्वित हुने गरी सोही वडाको भुट्टेखोला थापा चावा खोला सिँचाइ कुलो निर्माणको काम तीव्र पारिएको प्राविधिक राईले बताउनुभयो । आयोजना सम्पन्न भएपछि माइजोगमाईका ३ वटा वडामा बाह्रैमास पानी पुग्नेछ । आयोजनाले ३ सय ५८ किसानका ३ हजार ३ सय साठी रोपनी क्षेत्रमा सिँचाइ पुग्ने बताउनुभयो ।
साना सिँचाइ आयोजनामा स्विस सरकारको १ करोड १४ लाख ९४ हजार रुपैयाँ, संघीय सरकार, प्रदेश सरकार र माइजोगमाई गाउँपालिकाको ७६ लाख ६३ हजार रुपैयाँ र स्थानीय उपभोक्ताको ३८ लाख ३१ हजार रुपैयाँको लागत साझेदारी छ । यसअघि माइजोगमाई गाउँपालिकामा ४ करोड ७० लाख ८२ हजार रुपैयाँको लागतमा ९ वटा सिँचाइ कुलो निर्माण भएका छन् । ती कुलोबाट ८ हजार ९ सय ४० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । माइजोगमाईमा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मूला, काउली, कोबी, बन्दा, सिमीजस्ता तरकारीको व्यावसायिक खेती हुँदै आएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस