काठमाडौं/ भारतीय राजदूतावास, काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने संघसंस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स तथा स्कुलबसका साँचो हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण समारोहमा विभिन्न जिल्लाका नगरपालिका एवं गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो । आज हस्तान्तरण गरिएका कुल १ सय १ सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र पश्चिमरुकुममै पुगेर जिल्लाका संघसंस्थाका अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले ३ दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुलबस उपहारस्वरूप प्रदान गर्दै आएको छ ।
हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धी परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताउनुभयो । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुलबसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारले लामो समयदेखि लिँदै आएको पहलमध्येको एक रहेको उहाँको भनाइ थियो ।
सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर १ हजार ९ एम्बुलेन्स र ३ सयवटा स्कुलबस उपहारस्वरूप उपलब्ध गराइसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस