२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

प्रक्रियाका कारण विपद् प्रभावित अधिकारबाट वञ्चित नहुन् : गृहमन्त्री



  • आफ्नै खबर
  • ३ बैशाख २०८१ सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या ६३
  • काठमाडौं जाजरकोटलगायतका भूकम्प पीडितलाई  वर्षात् अघि नै स्थायी आवासको व्यवस्था मिलाउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

    सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा सहभागी उहाँले सो निर्देशन दिनुभएको हो । त्यसैगरी, उपप्रधानमन्त्री लामिछानेले भूकम्प पीडितको अधिकार सङ्कुचन नहुने गरी सहकार्यका साथ काम गर्न सम्बन्धित मन्त्रालयलाई पनि आग्रह गर्नुभयो ।

    अन्तर मन्त्रालयले पनि पीडितको स्थायी आवास निर्माणको कामलाई छिटो छरितो ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सहकार्य गर्न उपप्रधानमन्त्री लामिछानेको अपिल थियो । प्रक्रियागत अलमलहरू र कानुनी जटिलताहरूको मारमा पीडितहरू पर्न नहुने कुरामा पनि हेक्का राखेर काम गर्न उहाँले सम्बन्धित पक्षलाई सचेत गराउनुभयो ।

    सरकारले भूकम्प पीडितहरूको घरभित्र बस्न पाउने अधिकार हनन नहोस् भन्ने कुरामा सरकार गम्भीर भएर लागि परेको पनि उपप्रधानमन्त्री लामिछानेले बताउनुभयो । पीडितलाई राहत हुने कुरामा हुने ढिलाइको विषय सबैभन्दा बढी गुनासोको रूपमा आउने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यस्तो अवस्था आउन नदिन पनि सम्बन्धित पक्षले विशेष ख्याल राख्नुपर्ने बताउनुभयो ।