सुर्खेत/ काँक्रेविहारमा पर्खाल निर्माणको काम अघि बढ्ने भएको छ । प्रदेश सरकारले लामो समयसम्म रोकिएको काँक्रेविहार कम्पाउन्डिङ आयोजनालाई निरन्तरता दिन लागेको हो ।
०७८ साल असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माण अघि नबढाउन दिएको आदेशसँगै रोकिएको काम फेरि सुरु हुन लागेको हो । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँधसीमामा पर्खाल नलगाई ५ देखि ७ मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले अदालतमा रिट दिएपछि पर्खाल निर्माणको काम अघि बढ्न सकेको थिएन ।
अहिले वन क्षेत्रलाई समेटेर काम अघि बढाउन उच्च अदालत सुर्खेतले आदेशसमेत दिएपछि काम सुरु हुने भएको हो । २०७९ साल मंसिर २८ गते संरक्षित क्षेत्रको सबै वनक्षेत्र समेटेर पर्खाल निर्माण गर्न उच्च अदालत सुर्खेतले फैसला गरेको थियो । अदालतले गरेको फैसलाअनुरूप काम अघि बढाउन लागिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । काम अघि बढाउन चालू आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजनसमेत गरेको छ ।
०७८ वैशाख १२ गते ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ ‘कम्पाउन्ड वाल’ निर्माण कार्य अघि बढाइएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले महावीर, खिन्ती, हिराचन्द केएसके जोइन एडभेन्चर सुर्खेतसँग ११ करोड ८५ लाख ४२ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।
काँक्रेविहार संरक्षित वन क्षेत्रको ७ किलोमिटर क्षेत्रमा ‘कम्पाउन्ड वाल’ निर्माण गरिनेछ । अहिलेसम्म निर्माण कम्पनीले १ करोड ३३ लाख रुपैयाँ भुक्तानी लिएको छ । डिपिआरअनुसार पर्खाल निर्माणका लागि २१ करोड रुपैयाँ लाग्ने अनुमान भए पनि चालू आर्थिक वर्षमा प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले सार्वजनिक खरिद ऐनको १३औँ संशोधनले म्याद थपको बाटो खुला गरिदिएकाले पुरानै निर्माण कम्पनीसँग म्याद थप गरेर काम अघि बढाउने बताउनुभयो । काँक्रेविहार क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको जनाइएको छ ।
सरकारद्वारा जारी राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १ सय ७५.५ हेक्टर छ
प्रतिक्रिया दिनुहोस