१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कोटदरबारले तान्दै छ आन्तरिक पर्यटक



  • आफ्नै खबर
  • ५ बैशाख २०८१ बुधबार (८ महिना अघि)
  • पाठक संख्या १४४
  • कालीकोट/  कालीकोटको खाँडाचक्र नगरपालिकामा रहेको कोटदरबार आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकाम मान्म बजारबाट २ किलोमिटर टाढा रहेको कोटदरबार क्षेत्रबाट जिल्लाभरको दृश्य अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।

    कोटदरबारबाट दैलेखको पश्चिम र अछामको पूर्वी भागका साथै कालीकोटको अधिकांश भू–भागको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको खाँडाचक्र– १ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताउनुभयो । 

    स्थानीय तथा प्रदेश सरकारबाट कोटदरबार क्षेत्रमा पर्यटकीयस्थल संरक्षणका लागि ग्याबिन तार, ३ वटा प्रतीक्षालय, खानेपानीको धारा र राजा मलय बमको सालिक राख्न आवश्यक पूर्वाधार निर्माणलगायत काम भइरहेको स्थानीयवासी नरेन्द्रबहादुर शाहीले बताउनुभयो । 

    नेपालमा बाइसे–चौबिसे राज्य हुँदा राजकाजका लागि प्रयोग भएको कोटदरबार क्षेत्र अहिले पर्यटकीय क्षेत्र बनेको पूर्वमान्म गाउँ विकास समितिका अध्यक्ष अजबहादुर शाहीले बताउनुभयो । ‘यो दरबारमा वि.सं. १३४४ सम्म मलय बमका सन्तानले दरबार बनाएर राज्य गरेका थिए,’ उहाँले भन्नुभयो, ‘बमका सन्तानले पछि दरबार छोडेर गएसँगै यो भग्नावशेषमा परिणत भएको छ ।’

    बाइसे–चौबिसे राज्यका राजाहरू अग्लो टाकुरामा बस्ने भएकाले कोटदरबार पनि त्यही ऐतिहासिकतासँग जोडिएको खाँडाचक्र– १ का प्रेमबहादुर शाहीले बताउनुभयो । ‘यो दरबार क्षेत्रमा प्रवेश गर्दा रानीढुंगा, कैदी राख्ने ठाउँ र घोडावास छुट्टाछुट्टै स्थानमा देखिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले ती स्थानमा भग्नावशेष मात्रै देखिन्छ । संरक्षणका लागि केही प्रयास भए पनि सदुपयोग हुन सकेको छैन ।’

    नगरपालिकाले २४ लाख रुपैयाँको लगानीमा कोटदरबारको घेराबार गरेको थियो । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख रुपैयाँ बजेट खर्च गरेर केही संरचना बनाएको भए पनि संरक्षणको अभावमा अहिले जीर्ण हुँदै गएको स्थानीय बजुरे खड्काले जानकारी दिनुभयो ।

    आन्तरिक पर्यटकको रोजाइमा परेको कोटदरबार क्षेत्रलाई ‘पर्यटकीय हब’का रूपमा विकास गर्न नगरपालिकाले गुरुयोजना तयार गरिरहेको नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो । ‘स्थानीय र प्रदेश सरकारले यस क्षेत्रको पर्यटन विकासका लागि काम गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामीले गुरुयोजना तयार पारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने गरी काम गरिरहेका छौँ ।’

    कोटदरबारबाट कोटबाँडाको सुनथराली विमानस्थल जोड्ने केबलकार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको भन्दै केबलकार बनेपछि यहाँ आन्तरिकका साथै बाह्य पर्यटकको आगमन पनि बढ्ने उपप्रमुख शाहीले बताउनुभयो ।

     

    रासस 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?