१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

हात्तीआतंकबाट बच्न झापामै बन्यो ७६ किलोमिटर लामो सौर्य तारबार



  • आफ्नै खबर
  • ५ बैशाख २०८१ बुधबार (८ महिना अघि)
  • पाठक संख्या ६५
  • झापा/  मानव–हात्ती द्वन्द्व घटाउँदै हात्तीआतंकबाट बच्न झापा जिल्लाका विभिन्न स्थानमा हालसम्म ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । प्रत्येक वर्ष भारतबाट नेपालका मानवबस्तीमा आइपुग्ने तथा नेपालमै रहेका हात्तीलाई रोक्न ८ वर्षअघिदेखि सौर्य तारबार निर्माण गर्न थालिएको हो । 

    पहिलोपटक बाहुनडाँगीमा ०७३ सालमा १ करोड २० लाख रुपैयाँको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि ०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । 

    हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत ५ करोड ६५ लाख २७ हजार रुपैयाँ रहेको छ । ०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणअन्तर्गत भद्रपुरमा १ करोड १ लाख ४४ हजार रुपैयाँ लागतमा ६.३९ किलोमिटर सौर्य तारबार गरिएको उक्त कार्यालयले जनाएको छ ।

    मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६.९८ किलोमिटर सौर्य तारबार लगाइएको छ । गत असारमा २ करोड ५३ लाख ९५ हजार रुपैयाँको लागतमा उक्त खण्डमा बार लगाइएको हो । बार लगाउन राज्यकोषबाट रकम खर्च भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा प्राविधिक परामर्श प्रदान गरेको थियो ।

    पहिले लगाइएका केही स्थानका बार जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएको छ । बाहुनडाँगीको १८ किलोमिटर तारबार मर्मत गर्न करिब ३० लाख रुपैयाँ र जलथल क्षेत्रका लागि ४४ लाख ४७ हजार रुपैयाँ आवश्यक पर्ने डिभिजन वन कार्यालय प्रमुख राईले जानकारी दिनुभयो ।

    हात्तीको वितण्डा
    देशको पूर्वी नाकाबाट प्रत्येक वर्ष २ पटक मानवबस्तीमा हात्ती प्रवेश गर्दै आएका छन् । वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती आउने गरेका छन् । ०७५ अघि झापामा १०–१२ वटा हात्ती वर्षैभरि बस्ने गरेकामा उक्त संख्या वृद्धि हुँदै हाल ३५ पुगेको डिभिजन वन कार्यालयले जनाएको छ ।

    ‘यसै वर्ष झापाको विभिन्न स्थानमा चारवटा छावा जन्मेका छन्,’ प्रमुख राईले भन्नुभयो । जिल्लामा ०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भइसकेको छ भने ०६२ सालदेखि हालसम्म २० वटा हात्तीको मृत्यु भएको छ । ०६८ देखि गत वर्षसम्म ७ करोड १९ लाख ७० हजार ६ सय ९७ पीडितलाई राहत रकम वितरण भएको छ ।
    हात्तीको आक्रमणमा परी चालू आर्थिक वर्षमा ७ जनाको मृत्यु भएको छ । त्यस्तै, ५ सय ३२ घटनाका पीडितलाई १ करोड २६ लाख रुपैयाँ राहत प्रदान गर्न बाँकी छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?