२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

नेपालगन्जमा पनि मनाइन्छ जिब्रो छेड्ने जात्रा

बागेश्वरीमा हरेक वर्ष १५० भन्दा बढीले जिब्रो छेड्छन्, प्रजापतिले १५औँ पटक छेडे



  • आफ्नै खबर
  • ५ बैशाख २०८१ बुधबार (१ बर्ष अघि)
  • पाठक संख्या १२९
  • बाँके/  नेपालगन्जमा पनि जिब्रो छेड्ने जात्रा मनाउने गरिएको छ । काठमाडौंको बोडेमा मनाउने जिब्रो छेड्ने जात्रा र यो भने फरक रहेको छ । यहाँ रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरूले आफ्नो जिब्रो छेडेर नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । 

    भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेड्नुभयो । उहाँले आफूले विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको बताउनुभयो । उहाँ जस्तै अन्य भक्तजनले पनि आज यहाँ जिब्रो छेडेर दर्शन गरेका छन् ।

    नेपाललगायत भारतका विभिन्न स्थानबाट चैतेदसैँ र विजयादशमीको नवमीको अवसरमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने परम्परा छ । नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताउनुभयो ।

     महन्थ योगीले देवीको मन्दिरमा पशुबलि चढाउने परम्परा रहे पनि केही भक्तजनहरूले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको उल्लेख गर्नुभयो । नवरात्रको व्रत बसेका व्रतालु पुरुषहरू नवमीको दिन मन्दिरमा आएर त्रिशूलले जिब्रो छेड्ने परम्परा छ । हरेक वर्ष करिब १ सय ५० भन्दा बढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेको उहाँले जानकारी दिनुभयो ।

    ‘बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर दर्शन गर्ने चलन छ,’ उहाँले भन्नुभयो, ‘निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिरामी नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।’

    रासस