२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

मुस्ताङमा लेक लागेर ३ वर्षमा २९ जनाले गुमाए ज्यान

सबैभन्दा बढी भारतीय, ७ जना नेपाली, युक्रेन र थाइल्यान्डका १–१ जना



  • आफ्नै खबर
  • ६ बैशाख २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या १६९
  • म्याग्दी/  हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । लेक लागेर ३ वर्षमा २९ जनाको ज्यान गएको हो । 

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव ०७८÷७९ देखि ०८०÷८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालू आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ८ जना भारतीय, ३ जना नेपाली तीर्थयात्री र १ युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आव ०७८÷७९ मा ५ महिला र १ पुरुष गरेर ६ जनाको लेक लागेर मृत्यु भएको थियो । मृतक ६ जना नै भारतीय नागरिक थिए भने उनीहरू ४५ देखि ७३ वर्षसम्मको उमेर समूहका रहेको प्रहरीले जनाएको छ । 

    आव ०७९÷८० मा पनि ५ महिला र ७ पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये ७ भारतका, १ थाइल्यान्डका र ४ जना नेपाली थिए । उनीहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

    मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात् शरीरमा अक्सिजनको कमी हुनु हो । पछिल्ला ३ वर्षका तथ्यांकले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती लेक लाग्नु देखाएको छ ।
    दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ । लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वास–प्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् ।

    मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ–स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने, छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिँगटा लाग्ने, बेहोस हुने, कुराहरू बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन् ।

    रासस