कास्की/ पोखरामा आज बिहान भएको दुर्घटनामा परी ८ जना चिनियाँ पर्यटक घाइते भएका छन् ।
पोखराको राष्ट्र बैंकचोकमा माइक्रोबस र स्कार्पिओ गाडी एक–आपसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।
ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा.१३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा१प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् । घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
स्कार्पिओ अनियन्त्रित हुँदा एक पसलमा समेत क्षति पुगेको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस