कास्की/ आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका– २५ हेम्जामा सञ्चालन भएको आलु महोत्सवमा साढे ३० लाख रुपैयाँको आलु बिक्री भएको छ । चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सवमा समापनको दिन बुधबारसम्म ३० लाख ६५ हजार रुपैयाँको आलु बिक्री भएको हो ।
महोत्सवस्थलबाट कुल ७६ हजार ६ सय किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनुभयो । महोत्सवस्थलमा आलु बिक्रीका लागि आलुकै पहाड निर्माण गरिएको थियो । प्रतिकिलो ४० रुपैयाँका दरले आलु बिक्री गरिएको थियो । कुल ३ हजार ४ सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको तिमिल्सिनाले बताउनुभयो ।
कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङ्जा, चितवन, बुटबल, बागलुङ, तनहुँलगायत काठमाडौंबाट समेत मानिसहरू आलु खरिद गर्न आएको आयोजकको भनाइ छ । प्रतिघरपरिवारले न्यूनतम ५ किलोदेखि अधिकतम ३ सय किलो आलु खरिद गरेका हुन् । हेम्जामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वस्थकर मानिने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गर्दछ ।
कुल कारोबार झन्डै ४ करोड
यसैगरी, महोत्सवभर आलुलगायत अन्य सामग्रीसमेत गरी ३ करोड ७० लाख रुपैयाँको कारोबार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव समापनका अवसरमा अग्रज कृषकलाई सम्मान गरिएको छ । आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिनालाई नगदसहित सम्मान गरिएको हो ।
महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनीलगायत रहेका थिए ।
‘सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव गरिएको हो । कास्कीमा १ हजार २ सय ५३ हेक्टर जमिनमा आलुखेती गरिन्छ । त्यसबाट वार्षिक २१ हजार ५ सय १० टन उत्पादन हुन्छ । जसमध्ये हेम्जामा ५ सय हेक्टर क्षेत्रफल जमिनमा आलुखेती गर्ने गरिएकामा ५ हजार टन उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस