१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सस्तियो हुम्लामा दैनिक उपभोग्य सामान



  • आफ्नै खबर
  • ७ बैशाख २०८१ शुक्रबार (७ महिना अघि)
  • पाठक संख्या ९९
  • हुम्ला/  हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य ५ देखि ५० रुपैयाँसम्म तथा खसीको मासु १ सय रुपैयाँ सस्तो भएको छ । हुम्ला उद्योग वाणिज्य संघले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गर्दा उपभोग्य सामान सस्तो भएको हो । 

    सिमकोट बजारमा दैनिक उपभोग हुने सामानको हुम्ला उद्योग वाणिज्य संघले मूल्य निर्धारण गरेसँगै सम्पूर्ण व्यवसायीलाई मूल्यसूची वितरण गरिएको छ । संघले वितरण गरेअनुसार नै मूल्य कार्यान्वयन गरिएको व्यवसायी बताउँछन् । 

    सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान बिक्री नगर्ने निर्णय गरिएको संघका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार मासुजन्य पदार्थको वितरण तथा खुद्रा मूल्यसमेत निर्धारण गरिएको हो । व्यवसायीलाई दैनिक उपभोग्य वस्तुको मूल्यसूची बनाएर वितरण गरिएसँगै एकरूपता आउने विश्वास लिइएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

    नयाँ मूल्यसूचीअनुसार ब्रोइलर कुखुराको मासु, माछा र बंगुरको मासु प्रतिकेजी ७ सय, अण्डाप्रति गोटा ३०, प्रतिक्यारेट ७ सय ५० र राँगाको मासु प्रतिकेजी ७ सय ५० रुपैयाँ निर्धारण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । त्यस्तै, जिउँदो खसीको प्रतिकेजी ६ सय ५०, खसीको मासु मिक्स प्रतिकेजी १ हजार र खसीको नेट मासुको १ हजार १ सय निर्धारण गरिएको छ । 
    दैनिक उपभोग्य वस्तुमा धारा तेल ३ सय ७०, सनफ्लावर ३ सय, स्वस्तिक प्रतिलिटर २ सय ८०, डाल्डा घिउ २ सय ८०, चिनी प्रतिकेजी १ सय ७०, चिउरा प्रतिकेजी २ सय रुपैयाँ मूल्य तोकिएको छ । 

    अन्य उपभोग्य वस्तुमा पनि मूल्य निर्धारण गरिएको भन्दै अधिकांश वस्तुको मूल्य घटेको उहाँले बताउनुभयो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?