२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

बुद्धभूमि हाइड्रोले ग्रिन हाइड्रोजन उत्पादन गर्ने  



  • आफ्नै खबर
  • ७ बैशाख २०८१ शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या ९५
  • काभ्रेपलाञ्चोक/  नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू)सँग ग्रिन हाइड्रोजन उत्पादनका लागि सम्झौता गरेको छ । निजी क्षेत्रमा पहिलोपटक उक्त कम्पनीले ग्रिन हाइड्रोजन परियोजना दुप्चेश्वर गाउँपालिकामा रहेको तल्लो तादी जलविद्युत् आयोजनामा सञ्चालन गर्ने भएको हो । 

    सम्झौतामा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेल, ग्रिन हाइड्रोजन ल्यावका प्रमुख डा. विराजसिंह थापा र एकेडेमिया इन्डस्ट्रीका संयोजक डा. राम लामा तथा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, कम्पनीका निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन् । २ पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रिन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले ३ महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताका अनुसार उत्पादन सुरु गर्ने जनाइएको छ । 

    उक्त परियोजनाले हाल ३ हजार २ सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । सम्झौतापछि थापाले उक्त जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रिन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढंगले सुरक्षित रूपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याइने गरी उत्पादन गरिने बताउनुभयो । उहाँका अनुसार केयूलाई थप अनुसन्धान गर्न जलविद्युत् आयोजनाको सम्झौताले सहज भएको छ । यस्तै, हाइड्रोजन उत्पादनका दायरा बढाउन अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्न सकिने केयूले जनाएको छ । 

    कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रिन हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताउनुभयो । प्रारम्भिक चरणमा हालको क्षमताअनुसार सफलतापूर्वक ग्रिन हाइड्रोजन उत्पादन गर्न सके उत्पादन बढाउँदै लैजाने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र बिजुलीबाट ग्रिन हाइड्रोजन उत्पादन गर्छौँ, त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजनामा छौँ ।’ उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गरिने उहाँको भनाइ छ । 

    विगत २ वर्षदेखि ग्रिन हाइड्रोजनको उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको केयूले २०७९ चैत १९ गते औपचारिक रूपमा ग्रिन हाइड्रोजन उत्पादन गरेको थियो । केयूलाई नेपालमा हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट यातायातका साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको हो । 
    निगमकै सहयोगमा कात्तिकमा कोरियाबाट हुन्डाईको नेक्सो कार भिœयाउनुका साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको छ । 

    यसका लागि निगमले केयूलाई ५ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । उक्त सहयोगबाट केयूले ३३ हजार अमेरिकी डलरको कार, १ करोड ३० लाख रुपैयाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको जनाइएको छ । 

    हाइड्रोजन रिफिल सेन्टरलाई धाराको पानी र बिजुली दिएपछि पानीलाई प्रशोधन गर्ने, प्रशोधिन पानीबाट हाइड्रोजन उत्पादन गर्ने, उत्पादित हाइड्रोजनलाई ड्राइङ, प्युरिफाई गरी, लो प्रेसर ट्यांकमा भण्डार गर्ने र लो प्रेसर ट्यांकमा रहेको हाइड्रोजनलाई हाइप्रेसर ट्यांकको माध्यबाट कारमा रिफिल गरिन्छ । 

    अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालयपरिसरमा स्थापित हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औसत २ किलोग्राम हाइड्रोजन उत्पादन हुनेछ । यस्तै केयूमा स्थापित हाइड्रोजन स्टेसनमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ युनिट बिजुली खर्च हुनेछ । केयूमा भिœयाइएको हुन्डाईको नेक्सो कारमा ६ किलोग्राम हाइड्रोजन भर्न सकिने र उक्त हाइड्रोजनबाट ६ सय ५० किलोमिटर दूरीको यात्रा गर्न सकिनेछ । 

    अध्ययनका क्रममा प्रयोगात्मक अभ्यासका लागि हाइड्रोजन उत्पादन गरिए पनि यातायात सञ्चालन गर्न हाइड्रोजन उत्पादन गरिएको यो नेपालको पहिलो प्रयास भएको पोखरेलको भनाइ छ ।