१८ असोज २०८२ शनिबार | 04 Oct 2025 Sat

वन डढेलो लगाउनेलाई चिन्न सिसी क्यामरा



म्याग्दीको मंगला गाउँपालिका कुकुरबिसाउनेमा लागेको डढेलो
  • आफ्नै खबर
  • ७ बैशाख २०८१ शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या १५८
  • काठमाडौँ/  वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामरा राख्न सुरु गरिएको हो । 

    चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ । सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरुको सुझाव दिएसँगै सिसी क्यामेरा जडान थालिएको हो । 

    कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जङ्गलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सिसी क्यामरा जडानको कार्य अगाडि बढाइएको बताउनुभयो । ‘हाल दुई वटा सिसी क्यामरा जडान भइरहेका छन् । अन्य स्थानमा पनि क्यामरा जडान प्रक्रियालाई प्रथिमकतामा राखेर अगाडि बढ्ने योजना बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘यति नगरे जङ्गलमा गएर आगो लगाउने गतिविधि नै रोकिएन । आगो लगाउनेलाई कारबाहीको दायरामा ल्याउनका लागि पनि क्यामराले सहज हुनेछ ।’

    नेपाल प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले पनि सिसी क्यामरा जडान गरेमा डढेलो नियन्त्रणमा सहज हुने बताउनुभयो । ‘अधिकांश वन डढेलो मानवले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्नका लागि पनि वन क्षेत्रमा सिसी क्यामरा जडान गर्नु उचित हुन्छ’, उहाँले भन्नुभयो, ‘योलगायत वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्राथमिकता दिन जरुरी छ ।’

    मानिसले जङ्गलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ । वन ऐन, २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । ऐनमा उल्लेख छ, ‘यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’ 

    रासस