१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

गाउँपालिकाको अस्पतालमै ५ वटा डायलाइसिस मेसिन



  • आफ्नै खबर
  • ९ बैशाख २०८१ आईतबार (७ महिना अघि)
  • पाठक संख्या ४८
  • तनहुँ/   आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालमा डायलाइसिस मेसिन ५ थान पुगेको छ । सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पतालको डायलाइसिस सेवा सहज बनाउन थप दुई थान डायलाइसिस मेसिन दिएपछि ५ वटा पुगेको हो । 

    डायलाइसिस मेसिन थपिँदै गए पनि बिरामीले निःशुल्क सेवा भने पाउन सकेका छैनन् । अहिले पनि अस्पतालमा बिरामीले प्रतिसेसन २ हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । सेवा निःशुल्क बनाउन अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिबी क्षेत्रीले जानकारी दिनुभयो । 
    स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिक रूपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

    उक्त कार्यक्रममा अस्पताल सूचीकृत भएपछि डायलाइसिसका बिरामीले प्रतिउपचार ‘सेसन’ २ हजार ५ सय रुपैयाँ तिर्नुपर्दैन,’ उहाँले भन्नुभयो, ‘नेपाल सरकारबाट रकम उपलब्ध गराइने हुँदा बिरामीले सहज रूपमा सेवा पाउनेछन् ।’

    गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायलाइसिस सेवा सञ्चालनको स्वीकृति दिएको छ । अस्पतालमा रहेका ३ थान डायलाइसिस मेसिनसहित अब ५ वटा भएकाले २४ जना बिरामीलाई उपचार दिन सकिने डा. क्षेत्रीले बताउनुभयो । 

    ‘हाल २४ जना डायलाइसिसका बिरामीले उपचारका लागि निवेदन दिएर पालो पर्खिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘विपन्न नागरिक उपचार सेवा’मा अस्पताल सूचीकृत हुनेबित्तिकै सेवा दिन सुरु गर्नेछौँ ।’ अस्पतालले प्रत्येक सेसनमा प्रतिबिरामी २ हजार ५ सय रुपैयाँका दरले खर्च गर्न सक्ने अवस्था नरहेकाले पूरा सेवा प्रदान गर्न नसकिएको उहाँले बताउनुभयो । पैसा तिरेर डायलाइसिस गर्न आउने बिरामीलाई अस्पतालले सेवा दिँदै आएको छ । 

    डायलाइसिस बिरामीको संख्या बढ्दै गएको अवस्थामा अस्पतालले नर्सिङ कर्मचारी थप गरी नागरिकलाई सेवा दिन सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । अस्पतालमा डायलाइसिस सेवालाई निःशुल्क प्रदान गर्न गाउँपालिकाले सम्बन्धित निकायसँग आवश्यक पहलकदमी गर्दै आएको उहाँले बताउनुभयो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?