आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

सगरमाथा चढ्ने ३५२ आरोही, राजश्वनै ५० करोड भन्दा वढी


  • आफ्नै खबर
  • २०८१ बैशाख ८, शनिबार मा प्रकाशित १ साल अघि
  • २ पाठक संख्या
  • काठमाडौँ/  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका ३ सय ५२ जनाबाट ५० करोड ५६ लाख ६५ हजार रुपैयाँ राजस्व उठेको पर्यटन विभागले जानकारी दिएको हो । 

    विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवद्र्धकरुपमा आरोही आइरहेको बताउनुभयो । उहाँका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्व सङ्कलन भइरहेको छ । अघिल्लो वर्षकै हाराहारीमा रोयल्टी उठ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र २ सय ८७ पुरुष गरी जम्मा ३ सय ५२ आरोहीले अनुमति पाएका छन् । अनुमति लिनेमा हालसम्म ५५ देशका आरोही रहेका छन् । 

    अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए । निर्देशक गुरुङले आरोहीको सङ्ख्या पनि अघिल्लो वर्षकै हाराहारीमा पुग्ने अपेक्षा गरिएको बताउनुभयो । गत वर्ष ७६ करोड रुपैयाँ रोयल्टी रकम जम्मा भएको थियो । यस वर्ष पनि थप ५ देखि ७ करोड रोयल्टी जम्मा हुने अनुमान गरिएको निर्देशक गुरुङले बताउनुभयो ।

    विभागका अनुसार सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत हालसम्म ५६ करोड ४० लाख ३१ हजार रुपैयाँ रोयल्टी जम्मा भएको छ । यसमध्यै सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो । 

    विभागको विवरणमा सगरमाथापछि ल्होत्से हिमालबाट १ करोड ७२ लाख ५८ हजार रुपैयाँ र मकालु हिमालबाट १ करोड ७७ लाख ४८ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ । पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई ११ लाख रुपैयाँ र नेपालीलाई ७५ हजार रुपैयाँ दस्तुर लाग्छ । 

    रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु