१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

रुपन्देहीका ९ गाउँमा आगलागी



  • आफ्नै खबर
  • ९ बैशाख २०८१ आईतबार (७ महिना अघि)
  • पाठक संख्या ५९
  • रुपन्देही/  तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा भएको पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ।
    रोहिणी गाउँपालिका– ६ बाट शनिबार अपराह्न ९ वटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा विष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै पिप्रहवामा क्षति भएको छ । 

    आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उहाँले बताउनुभयो । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियोे ।

    आगलागीको घटना जिल्लाभरि नै भएका प्रवक्ता भट्ट बताउनुहुन्छ । गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ । वडा नम्बर ७ सिसै बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । उक्त गोठमा रहेका नौ बाख्रासहित ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका– ९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगोे होटेल पवन प्यालेसपरिसरमा पुगेको थियो । यसबाट प्लाइउड, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्नलगायत ७ लाख रुपैयाँबराबरको क्षति भएको प्रवक्ता भट्टले बताउनुभयो ।

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?