२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

ढोरपाटन सिकार आरक्षवरपर ३० होमस्टे सञ्चालन हुने



  • आफ्नै खबर
  • ९ बैशाख २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या ८२
  • बागलुङ/  पर्यटन प्रवर्द्धनका लागि बागलुङका २ पालिकामा ३० ठाउँमा घरवास (होमस्टे) सञ्चालन गरिने भएको छ । दिगो पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा (बिवाइसी) बागलुङको साझेदारीमा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा होमस्टे सञ्चालन गरिने भएको हो । 

    कार्यक्रम संयोजक उत्तम अर्यालका अनुसार युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रूपमा व्यावसायिक घरवास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यो अभियान थालिएको हो । पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा सञ्चालित ५ घरवास सञ्चालक प्रत्येकलाई २ लाख ८० हजार रुपैयाँबराबरको सामग्री वितरण गरेको अर्यालले बताउनुभयो । 
    ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरवास व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाइ छ । हाल सञ्चालनमा रहेका घरवासलाई व्यवस्थित गराउने र युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने कामको सुरुवात गरेको अर्याल बताउनुहुन्छ । 

    घरवासमा आवश्यक पर्ने लत्ताकपडादेखि बिस्तारा, कुर्सी, टेबल, ग्यास सेटलगायत विभिन्न ४० प्रकारका सामग्री हस्तान्तरण गरिएको छ । सञ्चालकलाई विभिन्न तालिममार्फत घरवास विषयमा विज्ञ बनाउने र दिगो रूपमा अगाडि बढ्ने गरी कार्यक्रम तय गरिएको उहाँको भनाइ छ । यस वर्षको पुस १५ गतेसम्म १७ र त्यसपछि १३ घरबास सञ्चालनमा ल्याइने अर्यालले जानकारी दिनुभयो । 

    युवालाई गाउँमै रोजगारीको सिर्जना गराई व्यावसायिक बनाउन १ सय ५० जनाका लागि फरकफरक कार्यक्रम सञ्चालनसमेत गरिने भएको छ । युवालाई होटेल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउनेलगायतका तालिमका माध्यमबाट सीप सिकाइ आयआर्जनसँग जोडिनेछ । 

    ढोरपाटनका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले यस क्षेत्रको पर्यटन प्रवद्र्धन, स्वरोजगार सिर्जना र घरवास सञ्चालन व्यवस्थापनमार्फत पर्यटन प्रवद्र्धन हुनुका साथै धेरै युवाले रोजगार बढाउने बताउनुभयो । ढोरपाटन र निसीखोलामा थुप्रै सम्भावना हुँदाहुँदै पनि पछाडि परेको भन्दै अब विभिन्न संघसंस्थासँग सहकार्य गरेर विकासको गति बढाउने उहाँको भनाइ छ ।